तालमेल गरेका गाउँपालिकामा काँग्रेस माओवादीको संयुक्त चुनाव प्रचार

  • २६ बैशाख २०७४, मंगलवार
  • 1983 पटक पढिएको

म्याग्दी, २६ वैशाख । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उमेद्वारहरुको टोलीले मंगलबार धौलागिरी गाउँपालीका ७ धारापानी र ताकममा घरदैलो, मतदाता भेटघाट तथा चुनावी सभा गरेका छन् । अध्यक्षका उमेद्वार माओवादीका रिमप्रकाश थापा र उपाध्यक्षका उमेद्वार काँग्रेसका डम्मर भण्डारी सहित काँग्रेस माओवादीका नेताहरुको सहभागितामा धौलागिरी गाउँपालीकामा बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको चुनाव प्रचार तिब्र पारीएको छ ।

घरदैलोपछि आयोजित आमसभामा उमेद्वारद्धय थापा र भण्डारीले गाउँपालीकाको बिवाद समाधान गर्दै धौलागिरीलाई सम्बृद्ध र विकसीत बनाउने प्रतिवद्धता जनाउनुभयो । ढोरपाटन, धौलागिरी चक्रिय र गुरील्ला पदमार्गको प्रवेशद्धारा धारापानी र ताकमलाई पर्यटन, कृषि, पशुपालन मार्फत सम्बृद्ध बनाउन प्राथमिकता दिने बताउदै उमेद्वारद्धयले ऐतिहाँसीक ताकमकोत, देउताभिरको संरक्षण, दरवाङ ताकम सडक स्तरउन्नती, विद्युतीकरणमा जोड दिने पतिवद्धता जनाउनुभयो ।

नेपाली काँग्रेसका जिल्ला सदस्य तमबहादुर थापा र माओवादी केन्द्रका गाउँपालीका ईञ्चार्ज खुमनाथ सुवेदी, विद्यार्थी नेता अर्जुन थापाले चुनावी तालमेललाई प्रतिवद्धताका साथ कार्यान्वयन गर्न र उमेद्वारहरुलाई जिताउन सक्रिय बन्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।
यसैगरी मंगला गाउँपालीकाको अध्यक्षका उमेद्वार चन्द्रप्रसाद बुढाथोकीको टोलीले बरंजाको सातबिसे र काँग्रेसकी उपाध्यक्षकी उमेद्वार होममाया फगामीको टोलीले कुहुँमा घरदैलो, मतदाता भेटघाट र मतदाता शिक्षा अभियान सञ्चालन गरेका छन् ।

यसैगरी नेकपा माओवादी केन्द्रको मालीका गाउँपालीकाको अध्यक्षका उमेद्वार कमल केसी, वडा नम्बर ८ का अध्यक्षका उमेद्वार बलबहादुर पुन र वडा सदस्यहरुको टोलीले रुमको ईग्रे तथा उपाध्यक्षकी उमेद्वार गौरी शेञ्चुरी र ४ नम्बर वडा अध्यक्षका उमेद्वार दिलीप शेरचनको टोलीले ओखरबोटको महभिरमा चुनावप्रचारप्रसार तथा घरदैलो गरेको छ ।