बेनी नगरपालिकामा एमाले– राप्रपाको चुनाबी कार्यक्रम

  • २५ बैशाख २०७४, सोमबार
  • 1709 पटक पढिएको

म्याग्दी, २५ वैशाख । स्थानीय तहको निर्वाचनका लागि म्याग्दी जिल्लाको नगरपालिकामा तालमेल गरेका एमाले र राप्रपाले आज विभिन्न स्थानमा चुनाबी आमसभाहरु सम्पन्न गरेका छन् । नेकपा एमाले र राप्रपाले बेनी नगरपालिका–१ को आनन्दबगर र रत्नेचौरमा चुनाबी सभा गरेका छन् । रत्नेचौरमा भएको कार्यक्रममा बोल्दै नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य भूपेन्द्र थापाले देशमा आर्थिक विकास र समृद्धिका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताएका थिए ।

सोही कार्यक्रममा राप्रपाका निवर्तमान जिल्ला अध्यक्ष एकेन्द्रबहादुर रावलले देशको राष्ट्रिय स्वाधीनताको रक्षाका लागि राष्ट्रवादी शक्तिलाई जिताउनुपर्ने बताए ।     कार्यक्रममा नगरपालिकाका उम्मेदवारद्वय प्रमोद श्रेष्ठ र सञ्जु बरुवालले समग्र नगरपालिकाको विकासका लागि आफुहरु चुनाबी मैदानमा होमिएको भन्दै मतदातालाई भोट दिएर जिताउन आग्रह गरेका छन् । कार्यक्रममा एमाले म्याग्दीका सचिवालय सदस्य सुरत केसी, जिल्ला सदस्य कृष्णकुमार विश्वकर्मालगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम एमाले सचिवालय सदस्य सन्तोष रावलको सञ्चालन र वडाध्यक्षका उम्मेदवार टेकबहादुर रावलको स्वागतमा सम्पन्न भएको थियो । रत्नेचौरको अर्जममा पनि कार्यक्रम गरिएको दुवै पार्टीले जनाएका छन् । यसैगरी अन्नपूर्ण र धौलागिरि गाउँपालिकाको विभिन्न ठाउँमा पनि एमालेको चुनाबी आमसभा सम्पन्न भएको छ ।

त्यस्तै सांसद तथा पूर्वराज्यमन्त्री नरदेवी पुनको प्रमुख आतिथ्यमा मङ्गला गाउँपालिकाको सल्यान र पखेरमा चुनाबकेन्द्रीत कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्दै सांसद पुनले देश अहिले एमालेको नीतिअनुसार अगाडि बढेको बताउँदै देश विकास गर्न एमालेलाई भोट दिएर जिताउन मतदातालाई आग्रह गरेकी छिन् ।

सल्यानमा भएको कार्यक्रममा गाउँपालिकाका उम्मेदवार सतप्रसाद रोका, सिर्जना केसी, युवा संघका जिल्ला सदस्य एकजित रोका, स्ववियु म्याग्दी क्याम्पसका सभापति सावित्रा केसीलगायतले बोलेका थिए । कार्यक्रम वडाअध्यक्ष हिरा जिसीको अध्यक्षता र मङ्गला क्याम्पसका सभापति अनिशा भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।