पर्यटनको केन्द्र बनाउने उम्मेदवारको चुनावी मुद्दा

  • २५ बैशाख २०७४, सोमबार
  • 1867 पटक पढिएको

 

२५ वैशाख, म्याग्दी । भौगोलिक हिसाबले म्याग्दीको सबैभन्दा ठूलो धौलागिरि गाउँपालिकाको चुनावी मैदानमा उत्रिएका उम्मेदवारले धौलागिरिलाई पर्यटनको केन्द्र बनाउने चुनावी मुद्दालाई प्राथमिकता दिएका छन् ।

एक हजार ३७ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको सात वटा वडा रहेको धौलागिरि गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस र माओवादी केन्द्रले तालमेल गरेका छन् भने एमालेका उम्मेदवार एक्लै चुनावी मैदानमा उत्रिएका छन् ।

साविकको गुर्जा, लुलाङ, मुना, मुदी, मल्कवाङ, मराङ र ताकम गाविस समावेश भएको धौलागिरिमा १४ हजार १०४ जनसङ्ख्या र जिल्लामा सबैभन्दा कम नौ हजार ३३४ जना मतदाता रहेका छन् ।

सोह्र वटा पदका लागि ८५ जना चुनावी मैदानमा उत्रिएका छन् । धौलागिरि गाउँपालिकाका उम्मेदवारले आफ्नो पार्टीले केन्द्रीय स्तरमा तयार पारेका घोषणापत्रका साथै स्थानीय मुद्दालाई समेत अघि सारेका छन् । यस गाउँपालिकामा संसारको साताैं अग्लो (८१६७ मिटर) धौलागिरि, गुर्जालगायत हिमाल रहेको, ढोरपाटन सिकार आरक्ष, धौलागिरि चक्रिय र गुरील्ला पदमार्गको प्रवेशद्वार रहेको छ ।

काँग्रेस र माओवादी केन्द्रको तालमेलमा अध्यक्षको उम्मेदवार बन्नुभएका माओवादीका रिमप्रकाश थापाले कृषि, पर्यटन, वनपैदावार, जलस्रोतको सम्भावना रहेको धौलागिरि गाउँपालिकामा सडक विस्तार, स्तरवृद्धिका साथै जलजला, गुर्जा, धौलागिरि आधार शिविर क्षेत्रमा पर्यटनको विकास गर्ने योजनालाई प्राथमिकता दिने बताए ।

एमालेबाट अध्यक्षको उम्मेदवार बन्नुभएकी थमसरा पुनले पर्याप्त मात्रामा रहेको प्राकृतिक स्रोत साधन र जनशक्ति परिचालन गरी रोजगारी सिर्जनामार्फत युवालाई विदेशिनु पर्ने बाध्यताबाट मुक्त गर्ने, धौलागिरि आधार शिविरसम्म सहज पदमार्गको पहुँच पु¥याउने योजना अघि सारेका छन् ।

अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवारलाई सघाएको नेपाली काँग्रेसबाट उपाध्यक्षका उम्मेदवार डम्मर भण्डारीले गाउँपालिकाको केन्द्रको विषयमा उत्पन्न विवादले सिर्जना भएको तित्ततालाई मेटाएर एकताको वातावरण सिर्जना गराउने, जलविद्युत्, खानी, जडीबुटी, पर्यटन क्षेत्रमा लगानी भित्र्याउने योजना रहेको बताए ।