वेगखोलामा काँग्रेसको आमसभा सम्पन्न

  • २४ बैशाख २०७४, आईतवार
  • 3973 पटक पढिएको

म्याग्दी, २५ वैशाख । नेपाली काँग्रेस म्याग्दीले रघुगंगा गाउँपालिका–१ वेगखोलामा चुनाबी आमसभा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै सांसद रेशम बानियाँले नयाँ संविधानको पूर्ण कार्यान्वयनका लागि काँग्रेसको बहुमत विजय आवश्यक रहेको बताए । काँग्रेसकै नेतृत्वमा संविधान जारी भएको भन्दै संविधान मार्फत परिकल्पना गरिएको विकास र समृद्धिको सपना शाकार पार्न काँग्रेसको जित अनिवार्य भएको टिप्पण गरे । रघुगंगा गाउँपालिकाको केन्द्र बिवाद समाधानका लागि पनि काँग्रेसको उम्मेदवारलाई जिताउन उनले आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका सभापति खम्बीर गर्बुजाले रघुगंगा गाउपालिकाको समृद्धि र विकासका लागि आफुहरुले विकासप्रेमी र निस्वार्थी उम्मेदवार अघि सारेको बताए । कार्यक्रममा गाउपालिका प्रमुखका उम्मेदवार भव बहादुर भण्डारी, उपप्रमुखका उम्मेदवार कमला पुर्जा, नेपाली काँग्रेस म्याग्दीका जिल्ला सदस्य केवी भण्डारी लगायत समृद्ध रघुगंगा गाउँपालिकाका लागि काँग्रेसलाई विजयी गराउन आग्रह गरेका थिए । कार्यक्रममा ४ सय भन्दा बढी मतदाताको सहभागिता रहेको काँग्रेसले जनाएको छ । यसैबीच, रघुगंगा गाउँपालिकाको वडा नं ८ मा वडाअध्यक्षका प्रत्यासी गमान छन्त्यालको नेतृत्वमा घरदैलो अभियान सुरु भएको छ ।