छात्रा फुटबलको उपाधी माउन्टलाई

  • १४ भाद्र २०७६, शनिबार
  • 3754 पटक पढिएको

बेनी, १४ भदौ । न्यु दोभान युवा क्लबले आयोजना गरेको प्रथम अन्तर मावि नाइन ए साइड छात्रा फुटबल प्रतियोगिताको उपाधि बेनीको माउन्ट एभरेष्ट आवासीय माविले जितेको छ । क्लवका पूर्व अध्यक्ष स्वर्गीय अनन्त गिरीको स्मृतिमा आयोजित प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस दृतीय भएको छ । शनिबार बेनीको खुल्ला मञ्चमा भएको फाइनलमा म्याग्दी क्याम्पसलाई शून्यका बिरुद्ध तीन गोल गर्दै माउन्टले उपाधि जितेको हो ।

बिजेता र उपबिजेताले ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद तीस र बीस हजार रुपैयाँ पुरस्कार हात पारेका छन् । प्रतियोगितामा माउन्टकी डिम्पल गुरुङलाई उत्कृष्ट खेलाडी, म्याग्दी क्याम्पसकी रविना परियारलाई उत्कृष्ट गोलरक्षक, ५ गोल गरेकी माउन्टकी दिपा रोका सर्वाधिक गोलकर्ता र म्याग्दी एकेडेमी सिंगालाई अनुशाषित टिमको पुरस्कार प्रदान गरिएको थियो । वेष्ट पोइन्टकी दिपशिखा किसानलाई राइजीङ प्येयरको उपाधी प्रदान गरिएको थियो ।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा म्याग्दी, बागलुङ र पर्वतका १३ विद्यालयको सहभागिता थियो । पुरस्कार वितरण गर्दै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले छात्रा फुटबलको सम्भावना रहेकाले यसलाई प्रोत्साहन गरिनुपर्ने बताउनुभयो ।

क्लवका कार्यवाहक अध्यक्ष सविन श्रेष्ठको अध्यक्षता र सचिव सुमित सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले पनि मन्तब्य व्यक्त गर्नुभएको थियो ।