तीनै तहका सरकारको समन्वयबाट मात्र विकास र सम्बृद्धी सम्भव–मन्त्री बस्नेत

  • १४ श्रावण २०७६, मंगलवार
  • 1369 पटक पढिएको

 

बेनी १४ साउन । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले तीनै तहका सरकारको समन्वयबाट मात्र विकास र सम्बृद्धी सम्भव हुने बताउनुभएको छ । जलजला गाउँपालिकाको मल्लाज क्षेत्रमा सञ्चालित विकास आयोजनाहरुको अनुगमनका क्रममा आउनुभएका मन्त्री बस्नेतले मंगलबार पर्वत बेनीमा आयोजित कार्यक्रममा संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्यको अपरिहार्यतामा जोड दिनुभयो ।

बजेटको सदुपयोगका लागि सहजिकरण, समन्वय, निगरानी भएमा विकासले गति लिने बताउनुभयो । त्यसका लागि जनता सचेत र सक्रिय बन्नुपर्ने बताउनुभयो । प्रदेश सरकारले स्थानीय तहसंग साझेदारी गरेर योजना सञ्चालन गर्न बजेट बिनियोजन गरेपनि स्थानीय तहहरुले बेवास्ता गरेकोमा दुख व्यक्त गर्नुभयो ।

स्थानीय तहले बेवास्ता गरेका कारण गत वर्ष सञ्चालित साझेदारीका कार्यक्रमलाई यस वर्ष निरन्तरता दिन नसकिएको बताउनुभयो । मिलनचोक–धाइरीङ सडक कालोपत्रेका लागि दश किलोमिटरको ठेक्का लागेर काम सुरु गर्न लागिएको र थप अर्को ठेक्का प्रक्रिया अघि बढेको जानकारी दिनुभयो ।

बेनी–मल्लाज सडक स्तरोन्नतिका लागि प्रदेश सरकारबाट सम्बोधन गरिने प्रतिवद्धता जनाउदै वारीबेनीको सहलगानीको खानेपानी आयोजना अबको दुई तीन महिनाभित्र सञ्चालनमा आउने बताउनुभयो ।

म्याग्दी र पर्वतको दुवै बस्तीलाई संरक्षण गर्ने गरी कालीगण्डकी नदी नियन्त्रणको काम गरिने बताउनुभयो । कार्यक्रममा जलजला–३ का वडा अध्यक्ष देवेन्द्र भण्डारीले गत वर्ष बजेट अभावमा प्रदेश र संघ संग साझेदारीका योजना सञ्चालन गर्न समस्या भएको बताउदै सडक स्तरोन्नति, नदी नियन्त्रण, वारीबेनी बसपार्क ढलान र कालोपत्रे योजनाका लागि ध्यानाकर्षण गराउनुभयो ।

पर्वत बेनी सहलगानी खानेपानी आयोजनाको उपभोक्ता समितिका अध्यक्ष लोकनाथ रेग्मीको अध्यक्षता र सचिव ठाकुर रेग्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।