एक सातादेखि पोखरा—जोमसोम हवाई सेवा बन्द

  • ३० असार २०७६, सोमबार
  • 1509 पटक पढिएको

बेनी ३० असार । प्रतिकूल मौसमका कारण एक सातादेखि पोखरा—जोमसोम हवाई सेवा प्रभावित बनेको छ । कास्की र मुस्ताङ खण्डमा मौसमी अवस्थामा सुधार नभएकाले हवाई उडान नसकेको जोमसोम नागरिक उड्यन कार्यालयले जनाएको छ ।
लगातार उडान रद्द हुन थालेपछि मुस्ताङ—पोखरा आउजाउ गर्ने पर्यटकले टिकट रद्द गर्न थालेको नागरिक उड्यन कार्यालय जोमसोमका प्रमुख भानुभक्त कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार जोमसोम आउने तारा एयरलाइन्सका दैनिक ५ वटा उडान रद्द हुँदै आएका छन् । सिजनमा पोखरा— जोमसोममा दैनिक १८ वटा सम्म उडान हुने गर्छ।

मौसम सुधार भएमा एक सय बढी पर्यटक मुस्ताङ आउने नागरिक उड्यन प्रमुख कोइरालाको भनाई छ । हवाई उडानको ‘अफ सिजन’ सुरु भएसँगै पोखरा—जोमसोम नियमित उडान भर्दै आइरहेको समिट एयरलाइन्सले उडान स्थगित गरेको कार्यालयले जनाएको छ ।
नेपाल वायुसेवाको जहाजले पनि साताको दुई पटक नियमित भर्ने गरेको छ । लगातारको वर्षासँगै म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काँभ्रेभिरमा सडक भासिएपछि बेनी—जोमसोम सिधा यातायात अवरुद्ध बनेको छ । शुक्रबार करिब १५ मिटर सडक भासिएपछि म्याग्दी र मुस्ताङमै सवारी साधन रोकिएका हुन ्।

अप्ठ्यारो स्थानमा सडक भासिएकाले करिडोर सडकले एकतर्फी बाटो खुलाउने प्रयास जारी राखेको छ । करिडोरले चट्टान फोर्ने दुई वटा ब्रेकरको सहयोगमा ट्र्याक खोल्ने काम गरेको आयोजना प्रमुख मुकुन्द अधिकारीले जानकारी दिनुभयो । अप्ठ्यारो स्थानमा सडक भासिएकाले दोहोरो आवगमन खुलाउन केही दिन लाग्ने उहाँले बताउनुभयो ।

हवाई तथा सडक अवरुद्धपछि मुस्ताङ सदरमुकाम सुनसान छ । होटलका कोठा रित्तै छन् । मुक्तिनाथ मन्दिरमा समेत तीर्थालुको रौनक न्यून भएको मुक्तिनाथ विकास समितिका कर्मचारी रवीन सुवेदीले जानकारी दिनुभयो । जोमसोमदेखि दैनिक छुट्ने लामो दूरीका सवारी साधन गन्तब्यमा पुग्न सकेका छैनन् । ढुवानी समेत प्रभावित भएको छ ।