धौलागिरी गाउँपालीकामा माओवादी केन्द्रको चुनाव प्रचार अभियान सुरु

  • १७ बैशाख २०७४, आईतवार
  • 2915 पटक पढिएको

म्याग्दी, १६ वैशाख । नेकपा माओवादी केन्द्रले धौलागिरी गाउँपालीकामा उमेद्वार सहित चुनाव प्रचार अभियान सुरु गरेको छ ।
धारापानीका रिमप्रकाश थापालाई अध्यक्षको उमेद्वार बनाएको माओवादी केन्द्रले गाउँपालीकाको सात वटै वडामा घरदैलो, चुनावी सभा र कार्यकर्ता भेटघाट अभियान थालेको हो । काँग्रेस र माओवादीबीच म्याग्दीका चार वटा स्थानीय तहमा तालमेल गर्ने सहमती अनुसार धौलागिरी गाउँपालीकामा काँग्रेसले उपाध्यक्षको उमेद्वार चयन गर्न बाँकी छ ।
गाउँपालीकाका अध्यक्ष यामन रोकाको नेतृत्वमा अध्यक्षका उमेद्वार थापा सहित वडा अध्यक्ष र सदस्यका उमेद्वारहरुको टोलीले धारापानीबाट घरदैलो तथा जनभेटघाट अभियान सुरु गरेको हो । चुनाव प्रचारप्रसार र समन्वयका लागि धौलागिरी गाउँपालीकाको सात वटै वडामा संयोजक तोकेको छ । माओवादी केन्द्रले धौलागिरी गाउँपालीका १ गुर्जामा झकबहादुर छन्त्याल, २ मा बलबहादुर बिक, ३ मा याम भण्डारी, ४ मा कमल पाईजा, ६ मा गौबहादुर केसी (कृष्ण) र ७ मा खमबहादुर थापालाई वडा अध्यक्षको उमेद्वार बनाएको छ ।

उमेद्वारी मनोनयन गरेपछि तालमेल भएको काँग्रेससंग अध्यक्ष र उपाध्यक्षको संयुक्त प्रचार अभियान सञ्चालन गर्ने माओवादी केन्द्रका नेता किरन थापाले बताउनुभयो । वडाहरुमा समेत तालमेल गरेर उमेद्वारी दर्ता गराउने विषयमा काँग्रेस र माओवादी केन्द्रका स्थानीय नेताहरुबीच छलफल भैरहेको छ । थमसरा पुनलाई अध्यक्षको उमेद्वार बनाएको एमालेले धौलागिरी गाउँपालीकामा उपाध्यक्षका उमेद्वार सार्वजनीक गरेको छैन् ।

एमालेले धौलागिरी २ लुलाङमा मोतीलाल पुर्जा, ३ मुनामा पूर्ण पुन, ४ मुदीमा बेगप्रसाद घर्ती, ५ मल्कवाङमा लालबहादुर छन्त्याल, ६ मराङमा राजाराम सुवेदी र ७ ताकममा कलानिधी सुवेदीलाई अध्यक्षको उमेद्वार बनाएको छ । काँग्रेसले धौलागिरी १ गुर्जामा समबहादुर छन्त्याल, २ लुलाङमा ज्ञानबहादुर पाईजा, ७ ताकममा मनबहादुर भण्डारी र ४ मुदीमा हस्तबहादुर पुनलाई वडा अध्यक्षको उमेद्वार चयन गरेको छ । मुदी खिवाङ स्थित चन्द्र ज्योती माविकी प्रअ पदबाट राजीनामा दिएर अध्यक्षको उमेद्वार बन्न लाग्नुभएकी पुन एमाले निकट अनेमसंघको जिल्ला अध्यक्ष हुनुहुन्छ भने माओवादी केन्द्रका जिल्ला सदस्य थापासंग लामो समय गैरसरकारी र सहकारी संस्थामा काम गरेको अनुभव छ ।

दन्द्धकालमा माओवादीको आधार क्षेत्र मानिएको धौलागिरी गाउँपालीकामा पछिल्लो समय काँग्रेस, एमालेको उपस्थिती र सक्रियता बढेको तथा माओवादी र काँग्रेसको तालमेल भएकाले कडा प्रतिस्पर्धा हुने देखिएको छ । भौगोलिक रुपमा बिकट रहेपनी धौलागिरी गाउँपालीका पर्यटन, जलस्रोत, जडिवुटी, पशुपालन र कृषिका हिसावले सम्भावनायुक्त छ । धौलागिरी गाउँपालीकामा स्थानीय तहका उमेद्वारहरुले धौलागिरी आधार शिवीरसम्म सहज पदमार्ग, सञ्चार, सबै बस्तीलाई सडक सञ्जालसंग जोड्ने, विद्युतीकरण गर्ने, जडिवुटी खेती, पशुपालन र जलविद्युतको विकास गरी रोजगारी सिर्जन ागर्ने एजेण्डा अघि सारेका छन् । केन्द्रको बिवाद पनी धौलागिरी गाउँपालीकाको पेचीलो चुनावी एजेण्डा बनेको छ ।