नेपालले उचाल्यो एएफसी सोलिडारिटी कप फुटबलको उपाधि,एक वर्षमा लगातार तीन उपाधि

  • ३० कार्तिक २०७३, मंगलवार
  • 2099 पटक पढिएको

नेपालले एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
मलेसियाको कुचिङस्थित सरावक रंगशालामा मंगलबार भएको फाइनल खेलमा नेपालले मकाउलाई १–० को गोलअन्तरले हराउँदै उपाधि जितेको हो ।

नेपालका लागि सुजल श्रेष्ठले २९औं मिनेटमा गोल गरे । उनले भरत खवासले मिलाइदिएको पासलाई सदुपयोग गर्दै हेडमार्फत् गोल गरेका हुन् ।
प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले केही सुन्दर मौका गुमाएका थिए । नेपालले सुरुआतदेखि नै आक्रामक खेल खेलेको थियो तर थप गोल भने गर्न सकेन । त्यस्तै, मकाउले पनि बराबरी गर्ने केही मौका गुमाएको थियो ।

योसँगै नेपालले एक वर्षमा लगातार तीन उपाधि जितेको छ । गत वर्ष माघमा बंगलादेशमा भएको बंगबन्धु गोल्डकप जितेको नेपाल त्यतिमा सीमित भएन ।
त्यसको एक महिनापछि भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुद (साग)मा पनि नेपालले नै जित्यो । तर, ती दुबै प्रतियोगिता विश्व फुटबल महासंघ (फिफा)ले मान्यता दिएको सिनियर स्तरको फुटबल थिएन ।

बंगबन्धु कपको फाइनलमा नेपालले बहराइनको २३ वर्षमुनि (यु–२३) को टोलीलाई हराएको थियो ।
त्यस्तै, साग फुटबलमा तीनजनाबाहेक अरू यु–२३ का खेलाडीले खेल्ने प्रावधान छ ।

तर, मंगलबार जितेको सोलिडारिटी कप फिफाको आधिकारिक प्रतियोगिताको उपाधि हो । यो प्रतियोगिता यसै वर्षदेखि सुरु भएको हो ।-रासस