निर्वाचन ऐन र आचार संहिताको बारेमा आन्तरक्रिया

  • १६ बैशाख २०७४, शनिबार
  • सन्तोष गौतम
  • 2125 पटक पढिएको

बेनी १६ बैशाख । बेनीमा शनिबार निर्वाचन सम्बन्धि ऐन र आचार संहिताको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।     नागरीक संवाद केन्द्र बागलुङले आयोजना गरेको कार्यक्रममा सरकारी अधिकारी, राजनितिक दल, कानुन व्यवसायी, नागरीक समाज र संघ संस्थाका प्रतिनिधिहरुबीच निर्वाचन आचारसंहिता, निर्वाचन आयोग, निर्वाचन (कसुर तथा सजाय) र मतदाता नामावली ऐनका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा जिल्ला न्यायाधिश एवं मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्माले आसन्न स्थानीय तह निर्वाचन स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहीत वातावरणमा सम्पन्न गर्नु सबैको दायीत्व भएको बताउनुभयो । संबिधानमा भएका अधिकार जनतामाझ ल्याउनका लागि हुन लागेको निर्वाचनलाई मर्यादीत तवरले सम्पन्न गर्न सबै पक्ष जिम्मेवार तथा आचार संहिता पालनामा संवेदनशिल बन्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा कानुन मन्त्रालयका उपसचिव फडीन्द्र गौतमले स्थानीय तह, प्रदेश र संघीय संरचना, राजनितिक दल, उमेद्वारको योग्यता लगायतको विषयमा जानकारी गराउनुहुदै उमेद्वारले निर्वाचनमा पाँच हजार भन्दा बढी चन्दा लिँदा रसीद दिनुपर्ने र आर्थिक कारोबार बैङ्क मार्फत गर्नुपर्ने कानुनी व्यवस्था रहेको बताउनुभयो ।

विगतको तुलनामा भन्दा यसपालीको निर्वाचनमा आचार संहिता उल्लङ्कन गर्नेलाई जरीवाना र सजायको व्यवस्थामा कडा कानुन बनेको उहाँको भनाई थियो । नेपाल बार एशोसियसनकी उपाध्यक्ष उषा मल्ल पाठकले मतदातालाई प्रभाव पार्नको लागि नगद जिन्सी दिने, भोज भतेर गर्ने लगायतका कार्य गरेमा पचास हजार रुपैयासम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने कानुन बनेको जानकारी गराउनुभयो ।

निर्वाचन सम्बन्धि ऐन नियम र व्यवस्थाको विषयमा सरोकारवालालाई जानकारी गराउने उद्देश्यले आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, प्रहरी नायव  उपरिक्षक बसुन्धरा खड्का लगायत विभिन्न कार्यालयका प्रमुख, राजनितिक दलका प्रतिनिधि, कानुन ब्यवसायी र अधिकारकर्मीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको अधिवक्ता राम शर्माले सहजिकरण गर्नुभएको थियो ।

सन्तोष गौतम