विपन्न विद्यार्थीलाई शान्ति कोषद्वारा पोसाक सहयोग

  • १५ बैशाख २०७४, शुक्रबार
  • 1637 पटक पढिएको

म्याग्दी, १५ वैशाख । म्याग्दीको बेनी नगरपालिका–६ छापमा सञ्चालित बागेश्वरी प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शुक्रबार पोसाक सहयोग भएको छ । जिल्लाको परोपकारी क्षेत्रमा क्रियाशिल ओमकुमारी शान्ति कोषमार्फत विपन्न विद्यार्थीहरुलाई एकएक सेट पोशाकहरु उपलब्ध गराइएको हो ।


विद्यालयमा अध्ययनरत विभिन्न ३० जना गरिब, विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई शान्ति कोषले पोशाक सहयोग गरेको विद्यालयले जनाएको छ । ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्य, विद्यालयका अध्यक्ष कृष्णबहादुर बानियाँ, प्रधानाध्यापक लालबहादुर खत्री, शान्ति कोषका सदस्य नरेश श्रेष्ठ, बेनी नगरपालिकाका सामाजिक परिचालक गंगा बानियाँ, पत्रकार प्रताप बानियाँ, विद्यालयका शिक्षक तथा अभिभावकलगायतले विद्यार्थीलाई पोशाक वितरण गरेका थिए ।
विद्यार्थीहरुलाई पोशाक वितरण गर्दै शान्ति कोषका अध्यक्ष शाक्यले शान्ति कोषले जिल्लाको मानवीय, सामाजिक र परोपकारी क्षेत्रमा मध्यस्थकर्ताका रुपमा भूमिका खेलिरहेको बताएका छन् । उनले स्वदेश तथा विदेशमा कोषमार्फत आवश्यक समन्वय गरी आर्थिक तथा भौतिक सहयोग गर्ने गरिएको बताउँदै आर्थिक अभावकै कारण जिल्लामा कसैले पनि मृत्युवरण गर्न नपरोस् भन्ने भावनाले विपन्नको उपचारमा सहयोग गरेको बताएका थिए ।
सोही कार्यक्रममा विद्यालयका अध्यक्ष बानियाँले जिल्लाको स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा शान्ति कोषले महत्वपूर्ण भूमिका खेल्दै आइरहेको भन्दै प्रशंसा गरेका थिए । कार्यक्रममा विद्यालयका प्रअ खत्रीले विद्यालयको अवस्थाको बारेमा जानकारी गराएका थिए । उक्त विद्यालयमा हाल ३० जना विद्यार्थीहरु अध्ययन गर्दै आइरहेका छन्भने ५ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेको जनाइएको छ ।