निजी विद्यालयको शूल्क बढाउने प्रस्तावप्रती विद्यार्थी संगठनको बिरोध

  • १५ बैशाख २०७४, शुक्रबार
  • 2621 पटक पढिएको

म्याग्दी १५ बैशाख । निजी विद्यालय सञ्चालकहरुको छाता संगठन (प्याब्सन)ले गरेको शूल्क वृद्धीको प्रस्ताव प्रती म्याग्दीका विद्यार्थी संगठनहरुले बिरोध जनाएका छन् ।     नेपाल विद्यार्थी संघ, अनेरास्ववीयु र अखिल क्रान्तिकारी सम्बद्ध संयुक्त विद्यार्थी संघर्ष समितिको केन्द्रिय कार्यक्रम अन्तरगत म्याग्दीमा पनी नेविसंघ र अनेरास्ववीयुले शूल्क बृद्धीको प्रस्ताव कार्यान्वयन नगर्न दवाव दिएका छन् ।

नेपाल विद्यार्थी संघले निजी विद्यालयहरुले चर्को शूल्क वृद्धी गर्न लागेकोमा ध्यानाकर्षण भएको जनाउँदै शुक्रबार जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको छ । नेविसंघ म्याग्दीका कार्यबाहक सभापति निर्मल खत्री नेतृत्वको टोलीले शिक्षा कार्यालयमा ज्ञापनपत्र बुझाएको हो ।

यसअघि बुधबार अनेरास्ववीयु म्याग्दीले पनी ज्ञापनपत्र बुझाएको थियो । प्याब्सन म्याग्दीले यस वर्ष २५ प्रतिशत शूल्क वृद्धी गर्ने प्रस्ताव गरेको छ । प्रक्रिया नपुगेकोले प्याब्सनको प्रस्तावको विषयमा कुनै निर्णय नभएको बताउँदै जिशिअ श्रेष्ठले सर्वपक्षीय बैठक बोलाएर छलफल गर्ने जानकारी दिनुभयो ।

विद्यार्थी नेताहरुले भने शिक्षा कार्यालयले प्रस्ताव स्वीकृत नगर्दै निजी विद्यालयले भर्ना र मासीक शूल्क बढाएको आरोप लगाएका छन् । प्याब्सन म्याग्दीले तिन वर्षदेखि शूल्क वृद्धी नगरेको र यसपाली शिक्षक कर्मचारीको तलब सुबिधा बढाउन शूल्क वृद्धी गर्नेपर्ने कारण देखाएको छ । म्याग्दीमा २७ वटा निजी विद्यालय छन् ।