म्याग्दीका कृषकक बोयर जातको बाख्रापालनप्रती आर्कषण

  • १२ बैशाख २०७४, मंगलवार
  • सन्तोष गौतम
  • 3493 पटक पढिएको

म्याग्दी १२ बैशाख । म्याग्दीका कृषकहरुको बोयर जातको बाख्रापालनप्रती आर्कषण बढेको छ । छिटो हुर्कने र तौल बढी हुने भएकाले ब्यवसायीक कृषकहरुले उन्नत बोयर जातको बाख्रा पाल्न थालेका हुन् ।    आम्दानीको हिसाबले बोयर जातको बाख्रापालन फलदायी हुने बेनी नगरपालीका ३ भकीम्लीको श्रीस पशुपालन तथा बहुउद्देश्यिय कृषि फार्मका सञ्चालक धनबहादुर श्रीसले बताउनुभयो । बोयर र स्थानीय जातका बाख्रालाई क्रस गराउँदा जन्मने पाठापाठी छिटो हुर्कने, तौल बढी, मासु गुणस्तरीय हुने र राम्रो आम्दानी गर्न सकिने उहाँको अनुभव छ ।

सो फार्ममा तिन वर्षअघि स्याङ्जाबाट ल्याएको एउटा बोयर जातको बोकालाई स्थानीय खरी र जमुनापारी जातका बाख्रासंग क्रस बनाएर ५५ वटा उन्नत जातको बाख्रा उत्पादन गरिएको छ । “बोयरसंग क्रस गराएर जन्मीएका पाठापाठीको तौल तिन महिनामै २५ किलोग्रामसम्म हुन्छ” श्रीसले भन्नुभयो “एउटै खसी बोकाको तौल एक सय किलोग्राम भन्दा बढी हुन्छ ।” उहाँले बोयर क्रस गरेको पाठापाठी बेचेर पछिल्लो एक वर्षयता सात लाख रुपैया आम्दानी भएको बताउनुभयो ।

चार महिना सम्मका पाठापाठीलाई ३० देखि ४० हजार रुपैया सम्ममा बिक्री हुने र माग उच्च रहेको कृषकहरुको भनाई छ । अन्नपूर्ण गाउँपालीका २ भुरुङ तातोपानीको ठूलोबगर बाख्रा फार्मका सञ्चालक वुद्धी पुनले स्थानीय जातका बाख्रा घटाएर बोयर जातका बढाउदै लैजानुभएको छ । ८ महिनाअघि विउका लागि दुई लाख रुपैयामा एउटा बोका किनेर ल्याएका पुनको फार्ममा अहिले १० वटा क्रश पाठापाठी छन् । तिन बर्षदेखि बेनी नगरपालिका–९ तोरीपानीमा धौलागिरी व्यवसायिक बाख्रा फार्म सञ्चालन गर्नुभएका अगुवा कृषक आनन्द रिजालले समेत स्वास्थ्यबर्दक र बजारको माग बढी हुन थालेपछि बोयर बाख्रा पालनलाई जोड दिएको बताउनुभयो ।

उहाँले रु ६० हजारमा खरिद गरि ल्याएको बोयरमा स्थानीय खरि जातका माउ बाख्रा क्रम गराएर अहिले स्थानीय जातमा क्रस बोयरको बाख्रा उत्पादनलाई जोड दिएको बताउनुभयो । छिटो शारीरीक वृद्धी, तौल उच्च, अन्य जातका बाख्राको तुलनामा रोग प्रतिरोधात्मक क्षमत्ता बढी भएको र स्थानीय हावापानी अनुकुल भएकाले ब्यवसायीक कृषकहरुको बोयर जातका बाख्रा प्रती आकर्षण बढेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख बरिष्ठ पशु चिकित्सक मनबहादुर पुनले बताउनुभयो ।

सन १९०० को पहिलो दशकमा दक्षिण अफ्रिकामा विकास भएको बोयर जातको बाख्रा नेपालमा करिब बिस वर्षअघि भित्रीएको थियो । बन्दिपुर बाख्रा बिकास फर्मका साथै निजी फर्महरुले यो जातको बाख्रा उत्पादन र विस्तार गरिरहेका चिकित्सक पुनले बताउनुभयो । प्रतिदिन १५० देखि तिन सय ग्राम तौल बढ्ने बोयरमा जुम्ल्याह जन्माउने क्षमत्ता सतप्रतीशत हुन्छ ।      म्याग्दीका कृषकले उत्पादन गरेको बोयर क्रस जातको पाठापाठी तनहुँ, कास्की, स्याङ्जा, नवलपरासी, पर्वत, बागलुङ र मोरङमा निकासी हुन्छ । एक दर्जन भन्दा बढी फर्ममा बोयर बाख्रा पालीएका छन् ।

सन्तोष गौतम