चम्किदै युवा चित्रकार श्रीपाली

  • ११ बैशाख २०७४, सोमबार
  • 5828 पटक पढिएको

म्याग्दी, ११ बैशाख । तपाईको तस्बिर कसैले तुरुस्तै बनाउन सक्छ भन्दा विश्वास नलाग्न सक्छ । तर म्याग्दीका एक युवा चित्रकारले हरेक व्यक्तिको तस्बिर जस्ताको तस्तै तयार गर्न सक्छन् । म्याग्दीको रघुगंगा गाउँपालिका–३ दुलेपानी घर भएका २२ बर्षिय युवा अमृत श्रीपालीले हरेक व्यक्तिको तस्बिर तयार गर्दै आएका छन् ।

बेनीमा कला सम्बन्धि व्यवसाय गर्न थालेका श्रीपालीले हरेक व्यक्तिको मात्रै नभईकन भुगोल, जनावर, रुख, लगायतका भू–दृष्यहरुलाई दुरुस्तै चित्रमा उर्तान सक्छन् । एक महिनादेखि बेनीमा चित्र बनाउन सुरु गरेका श्रीपाली सामु अहिले आफ्नो तस्बिर बनाउन आउनेहरुको भिड लाग्न थालेको छ ।
‘‘धेरै युवाहरुले आफ्नो तस्बिर बनाईदिन आग्रह गर्दै आउनुभएको छ, मैले पेन्सिल र रंगहरुको सहायताले तयार गरेको तस्बिर खुसी हुँदै लैजाने गर्नुभएको छ,’’–उनले भने । कक्षा १२ सम्मको अध्ययन गरेका श्रीपाली सानै उमेरदेखि चित्रकलामा रुचि राख्दै आएका छन् ।

उनले विद्यालय तहमा हुने विभिन्न चित्रकला प्रदर्शनीमा पुरस्काहरु समेत हात पारिसकेका छन् । श्रीपालीले काठमाण्डौमा पुगेर दुई महिना चित्रकला सम्बन्धि तालिम लिएपछि घरमै बसेर थप ७ महिना सम्म चित्रकला बनाउने अभ्यास गरेका थिए ।
आफ्नो कलामा निखार आउन थालेपनि व्यवसायिक रुपमा चित्रकला बनाउन थालेको उनको भनाई छ । अहिले उनले रु ३ सय देखि ३ हजार सम्म शुल्क लाग्ने गरि व्यक्ति, जनावर, देवी देवता, गाउँ , बस्ती र शहरहरुको चित्र कोर्ने गरेका छन् ।

सानो लगानीमा ब्रस, नाइफ, क्यानभर्स, पेन्सिल, रंगीनका सामाग्री लगायतका सामाग्रि खरिद गरि चित्रकला सम्बन्धि व्यवसाय थालेका श्रीपालीले प्रत्यक्ष र फोटोहरुबाट चित्रमा उतार्ने गरेका छन् ।