फुलमायाको उपचारका लागि ईटलीबाट ६५ हजार रुपैया सहयोग

  • १० बैशाख २०७४, आईतवार
  • 2177 पटक पढिएको

म्याग्दी, १० बैशाख । रक्तक्यान्सरबाट पिडित म्याग्दीको धौलागिरी गाउँपालीका ७ ताकमकी फुलमाया भण्डारीको उपचारका लागि ईटलीबाट ६५ हजार ४०० रुपैया सहयोग प्राप्त भएको छ ।     साविक ताकम गाविस ४ की ३३ वर्षिया भण्डारीको उपचारका लागि ताकम धारापानी घर भई हाल ईटलीमा रहनुभएका रवीप्रकाश थापाको पहलमा संकलीत सो रकम आईतबार ओमकुमारी शान्ति कोषलाई हस्तान्तरण गरिएको हो ।

थापाकी श्रीमती शान्तीले कोषका अध्यक्ष राजेश शाक्य र फुलमाया बचाउ अभियानका संयोजक सन्तोष गौतमलाई रकम हस्तान्तरण गर्नुभएको थियो । परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि शान्ति कोषले फुलमाया बचाउ अभियान सञ्चालन गरेको छ । अभियानमा देश बिदेशमा रहेका म्याग्देलीहरुबाट सहयोग प्राप्त हुने क्रम जारी छ ।

भरतपुर स्थित विपी कोईराला मेमोरीयल क्यान्सर अस्पतालमा उपचार गराईरहेकी भण्डारीको स्वास्थ्यमा सुधार आएको आफन्तहरुले बताएका छन् । रोजगारीको शिलशिलामा एक वर्षअघि कतार गएका फुलमायाका श्रीमान रोशन स्वदेश फर्कीएर श्रीमतीको उपचारमा जुटेका छन् । खेती किसानी गरेर जिविकोपार्जन गर्दै आएका भण्डारी दम्पत्तीका दुई छोरा र दुई छोरी छन् । उनको उपचारका लागि पन्ध्र लाख रुपैया खर्च हुने अस्पतालले जनाएको छ ।