रघुगंगामा ‘एक वडा एक योजना’ : अध्यक्ष भण्डारी

  • २१ बैशाख २०७६, शनिबार
  • धिरन खत्री
  • 3119 पटक पढिएको

 

म्याग्दी, २१ बैशाख । रघुगंगा गाउाँलिकाले आर्थिक बर्ष २०७६÷०७७ मा एक वडा एक गौरवको योजना निर्माणको तयारी गरेको छ । बस्तीस्तरको टुक्रे योजनाले विकासमा असर गरेको बताउदै आगामी आर्थिक बर्षमा एक वडा एक गौरवको योजनालाई प्राथमिकता दिएको अध्यक्ष भवबहादुर भण्डारीले बताए । समृद्ध साप्ताहिकको स्थानीय तहका योजनाको स्तम्भको लागि कुराकानी गर्दै अध्यक्ष भण्डारीले कृषि, पशुपालन, पर्यटन लगायतका सम्भावनालाई पहिचान, पूर्वाधार निर्माण, सामाजिक जागरण, रोजगारि सिर्जनासंगै सार्वजनीक सेवा प्रवाह र सञ्चारको पहुँच वृद्धी, शिक्षा र स्वास्थ्यको गुणस्तर सुधारमा रघुगंगा गाउँपालिकाले जोड दिएको बताए । पर्यटन र कृषिलाई प्राथमिकता दिएको रघुगंगा गाउँपालिकाले गौरवको योजनाको रुपमा धौलागिरि आईसफल पदमार्ग अन्तर्गत पर्यटन प्रवद्र्धन गर्नका लागि पुर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ ।

त्यस्तै पूर्वाधारतर्फ सडक निर्माण र स्तरोन्नतीका योजनालाई प्राथमिकता दिएको छ । भने वडा नम्वर ४दग्नाम दरमिजा, ७ चिमखोला र ८कुइनेमंगलेका जनतालाई लक्षित गरेर दग्नाम दरमिजा हुदै चिमखोलाको भिर काटेर सडक बनउने योजना प्राथमिकता रहेको अध्यक्ष भण्डारीले जानकारी दिए । त्यस्तै बेनी नगरपालिकाको सिमाना रहेको गाउँपालिकाको वडानम्वर ५ झिँ देखि वडा नम्वर ६ पाखापानीमा सडक कालोपत्रेको लागि डिपिआर गर्ने योजना आगामी बर्षको भएको उनले जानकारी दिए । समृद्धिको आधार पर्यटन र कृषि भएको बताउदै सडक, खानेपानी, विद्यूत सिचाई लगायतको क्षेत्रको पुर्वाधार निर्माणलाई प्राथमिकता दिदै वडाको योजना निर्माण गरिने उनले बताए ।
गाउँपालिकाले उज्यालो, सफा र हरित रघुगंगा बनाउने नीतिसंगै आन्तरिक आम्दानीका स्रोतहरुको पहिचान, सम्भावनाको उजागर, जनसहभागीता र स्वरोजगारमुलक कार्यक्रम, गाउँपालिका, वडा र विषयगत कार्यालयको पूर्वाधार निर्माण, विद्यूत र सञ्चारको पहुँच विस्तार, शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार, प्रत्येक घरमा खानेपानीको सुबिधा विस्तारका लागि रघुगंगाले संघिय र प्रदेश सरकारसंग समन्वय गरेर विकासका योजनाहरु सम्पन्न गर्ने योजना निर्माण गर्ने लक्षसहित अघि बढेको अध्यक्ष भण्डारीले जानकारी दिए ।
रघुगंगा गाउँपालिकाको सबै वडामा कच्चि सडक पुगेपनी भौगोलिक बिकटताका कारण नियमित रुपमा सवारी साधन सञ्चालन हुन नसक्नु, सञ्चार, विद्युत, उच्च शिक्षा, स्वास्थ्य, खानेपानी सुबिधाको सबै नागरिकमा सहज पहुँच नपुग्नु यहाँको विकासमा प्रमुख चुनौती रहेको छ । गाउँपालिकाको वडा नम्बर १ देखि ६ सम्म केन्द्रिय प्रशारण लाईनको विद्युतको पहुँच पुगेपनि दरमिजा, चिमखोला, कुइनेमंगले, ठाडखानी, रायखोर लगायतका क्षेत्रका बासिन्दा लघुजलविद्युत परियोजना ,सौर्य उर्जा र टुकीमा निर्भर छन् ।
युवा जनशक्तिलाई विदेश पलायन रोक्न कृषि सुलभ ऋणको लागि समन्वय, कृषकहरुलाई अनुदानको कृषि विउविजन, तालिम र सामुहिक कृषि तथा फलफूलको खेतीको लागि आवश्यक बजेट विनियोजन गर्ने तयारी गरिएको उनले जानकारी दिए । आगामी आर्थिक बर्षमा विकास निर्माण तर्फ गाउँपालिकाले १० करोड बराबरको बजेट विनियोजन गर्ने लक्ष रहेको अध्यक्ष भण्डारीले जानकारी दिए । गाउँपालिकामा शिक्षा र स्वास्थ्थलाई गुणस्तर तथा ब्यवस्थित रुपमा संचालन गर्न नीति नियममा कडाई तथा पूर्वाधार निर्माणमा प्राथमिकता राखेको जानकारी दिए । गाउँपालिकाको सबै वडामा शान्ति सुरक्षालाई प्रभावकारी बनाउन प्राथमिकता दिएको बताए । गाउँपालिकामा गौरवका योजनालाई प्रभावकारी कार्यान्वयनका लािग दक्ष जनशक्ति तथा प्रविधिकको अभाव, समायोजनले सचिवको समस्या, सामाजिक सुरक्षा वितरणमा कर्मचारी अभाव र स्पष्ट कानुनको अभावको चुनौती रहेको अध्यक्ष भण्डारीले जानकारी दिए ।
आर्थिक बर्ष २०७५÷७६ मा ८० प्रतिशत योजना सम्पन्न भएपनि बजेट कार्यान्वयनमा जनशक्ति अभाव, कर्मचारी परिवर्तन, भौगोलिक विकटता र छरिएका शाखाहरु अन्तर्गत समन्वयको अभाव र समायोजनले लेखापालको अभावले भुक्तानीमा समस्या, उपभोक्ता समितिमा दक्षताको कमि, स्थानीय श्रम भन्दा मेसिन प्रयोग बढि हुने प्रमुख चुनौतीहरु रहेको उनले बताए । टुक्रे योजनामा उपभोक्ता समिति गठन प्रक्रियामा कठिन र जनता अपेक्षा अनुसार काम नदेखिएको कारण आगामी आर्थिक बर्षमा एक वडा १ गौरवको योजना निर्माणमा प्राथमिकता दिएको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l