सबस्टेशन र प्रसारण लाईनको सुनिश्चिताले जलविद्युत आयोजनाको काम धमाधम

  • १० बैशाख २०७४, आईतवार
  • 3650 पटक पढिएको

म्याग्दी, १० वैशाख । म्याग्दीको दाना र पर्वतको खुर्कोटमा २२० केभी सवस्टेशन र प्रशारण लाईन निर्माण हुनेभएपछि कालीगण्डकी करिडोर क्षेत्रमा लामो समय रोकिएको जलविद्युत आयोजनाका कामले गति लिएको छ । म्याग्दी र मुस्ताङका आधा दर्जन जलविद्युत् आयोजनाहरु सबस्टेशन र प्रशारण लाइनको अन्र्योलताका कारण निर्माण चरणमा प्रवेश गरेपनि पूर्वाधार निर्माणको काम अघि बढ्न सकेको थिएन ।  नेपाल विद्युत प्राधिकरणले यी दुबै ठाउँमा रहेको जग्गाको मुआब्जा बिवाद टुग्याएर ठेकेदार छनौट गरि कार्यक्षेत्रमा काम सुरु गरेपछि म्याग्दीको नारच्याङमा निर्माणधिन ४२ मेगावाटको मिस्त्रिीखोला, ५ मेगावाटको घलेम्दीखोला, मुस्ताङको टुकुचेमा निर्माणधिन १४ मेगावाटको थापाखोला जलविद्युत् आयोजनाले पूर्वाधार निर्माणको कामलाई तीब्र बनाएका छन् भने म्याग्दीको घारमा १४ मेगावाटको घारखोला, वेगखोलामा ६५ मेगावाटको माथिल्लो कालीगण्डकी, नारच्याङमा ३८ मेगावाटको निलगिरि पहिलो र ६५ मेगावाटको निलगिरि दोस्रो आयोजनाले समेत कानुनी प्रक्रियालाई अघि बढाएका छन् । निर्माणधिन थापाखोलाको ८५ प्रतिशत र घलेम्दी खोलाको ७० प्रतिशत काम सम्पन्न भईसकेका छन् । सन् २०१६ को फेब्रअरीमा सम्पन्न गर्ने लक्ष्य रहेपनि सबस्टेशन र प्रशारण लाइन निर्माणको सुनिश्चितता नभएका कारण निर्माण प्रक्रिया अल्झिएको मिरिस्त्रीले गत असोजदेखि सुरुङ, पावर हाउस, इन्टेक निर्माणलाई तीब्र गतिमा अघि बढाएको जनाएको छ । आयोजनाका प्रबन्धक निर्देशक डोलराज शर्माले सरकारले समयमै सवस्टेशन र प्रशारण लाईन निर्माण नगर्दा आयोजनाको निर्माण कार्य स्वभाविक हिसाबले पछि सरेको बताए । ‘अब हामीले सन् २०१९ भित्र सम्पन्न गर्ने नयाँ लक्ष्य निर्धारण गरेका छौँ । यो अवधीमा सम्पन्न गर्न सरकारले अहिले जसरी सवस्टेशन र ट्रान्समिसनको काम गरिरहेको छ, त्यसलाई निरन्तरता दिनुपर्छ’, उनले भने । कालीगण्डकीसँग सहायक नदीका रुपमा मिसिने घारखोला, मिरिस्त्री, घलेम्दीखोला र थापाखोलाबाट सहज रुपमा विद्युत् उत्पादन गर्न सकिने भएपनि उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोड्न प्रशारण लाइन नहुँदा आयोजनाका लागि अनुमति लिन तर काम नहुने समस्या छ । सरकारले यस क्षेत्रमा निर्माण हुने जलविद्युत्लाई दाना–खुर्कोट हुदै नवलपरासीको बर्दघाट जोड्ने गरि बहुप्रतिक्षित आयोजना अघि सारेको छ । सोही अनुरुप दाना–खुर्कोटमा ३८ किलोमिटर प्रशारण लाइन बन्नेछ । जहाँ ११० वटा टावर निर्माण हुनेछ । टावर निर्माणस्थलका विषयमा केहि स्थानमा समस्या भएपनि त्यसलाई तत्काल समाधान गर्न सकिने बताईएको छ । प्रशारण लाइनको क्षमता १२ सय मेगावाटको हुनेछ । प्राधिकरणले वि.स २०७५ साल साउनभित्र दुबै स्थानमा सबस्टेशन र प्रशारण लाइन निर्माण गरिसक्ने गरि २ अर्ब ९० करोड रुपैयाँमा ठेक्का सम्झौता गरिसकेको छ । सरकारले आफ्नो तर्फको कामलाई तीब्रता दिएपछि कालीगण्डकी करिडोर क्षेत्रमा जलविद्युत आयोजनाका कामले तीब्रता पाएको घलेम्दी हाइड्रो लिमिटेडका प्रबन्ध निर्देशक एवँ नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रमोद श्रेष्ठले बताए । ‘घलेम्दी, मिरिस्त्री र थापाखोलाले देखिने गरि नै कामलाई तीब्र बनाएको छ । अबको साढे एकबर्षभित्र यी आयोजनाहरु सम्पन्न हुनेछन्’, उनले भने, ‘अरु अनुमति लिएका आधा दर्जन बढी आयोजनाले पनि आन्तरिक तथा बाह्य कामलाई तीब्र बनाएका छन् ।’ लामो समयदेखि अवरुद्ध बनेको आयोजनाले काम अघि बढाउँदा नारच्याङ, टुकुचे, घार, दाना, भुरुङतातोपानी लगायतका क्षेत्रमा स्थानीयबासीले रोजगार समेत पाउन थालेका छन् । ‘सरकारी कामको तीब्रताले लगानीकर्ताहरुमा नयाँ उत्साह थपिएको छ, नयाँ लगानीकर्ताहरु पनि आउन लागेका छन्’, महासंघका उपाध्यक्ष श्रेष्ठले भने, ‘सरकारले जति छिटो सबस्टेशन र प्रशारण लाइन बनाउँछ, त्यति नै छिटो आयोजनाहरु सम्पन्न हुनेछन् ।’