मलेसियामा रहेका परियारले जुटाए दृष्टिविहीन दम्पतीका छोरीहरुलाई सहयोग

  • १० बैशाख २०७४, आईतवार
  • 5119 पटक पढिएको

म्याग्दी, १० वैशाख । म्याग्दीको बेनी नगरपालिका–१ अर्जमका एक युवाले दृष्टिविहिन दम्पतीका छोरीहरुको अध्ययनको लागि सहयोग जुटाउनुभएको छ । हाल रोजगारिको शिलसिलामा मलेसियामा रहनुभएका आशिष परियार ( झिल्के)ले म्याग्दीको धौलागिरी गाउँपालिका –७ ताकमको रातमाटाका दृष्टिविहीन दम्पती जलन र सुस्मीता विकका छोरीहरुको अध्ययनको लागि रु २३ हजार बढी सहयोग जुटाउनुभएको हो ।

दृष्टिविहिन दम्पतीका विद्यालय उमेरका तिन छोरीहरु अध्ययनबाट बञ्चीतीमा परेको सम्बन्धमा म्याग्दी अनलाईन मार्फत समाचार प्रकाशन भएपछि परियारले सामाजिक सञ्जाल फेसबुक मार्फत सहयोगको आह्वान गर्नुभएको थियो । दलित अधिकारकर्मी सामाजिक अभियान्ता समेत रहनुभएका परियारको सक्रियतामा मलेसियामा रहेका विभिन्न ठाउँका सहयोगदाताहरु मार्फत संकलन भएको रु २३ हजार ३७३ रकम पिडित परिवारलाई हस्तान्तरण गरिएको हो ।

शनिवार म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषमा आयोजित एक कार्यक्रमका बिच समन्वयकर्ता पत्रकार कमल खत्री, कोषका अध्यक्ष राजेश शाक्य, संस्थापक अध्यक्ष चन्द्रकुमार केसी र नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष प्रमोद श्रेष्ठले संयुक्त रुपमा दृष्टिविहिन दम्पती र उनका छोरीहरुलाई सो रकम हस्तान्तरण गर्नुभएको थियो ।

सहयोग हस्तान्तरण गर्दै समन्वयकर्ता पत्रकार खत्रीले प्रवासमा रहेर पनि दृष्टिविहिन दम्पतीका छोरीहरुको अध्ययनको लागि सहयोग जुटाउन समाजसेवि युवा परियारले खेलेको भुमिका प्रशंसनिय रहेको भन्दै सबै सहयोगदाताहरुलाई धन्यबाद ज्ञापन गर्नुभयो ।

त्यस्तै चार छोरीका बुबा दृष्टिविहिन जलन विकले आफ्नो परिवारमा परेको समस्यालाई बुझेर सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

यता सामाजिक सञ्जाल फेसबुक मार्फत विभिन्न सामाजिक अभियानहरुमा सहयोग जुटाउन सक्रिय रहनुभएका परियषरले समेत आफ्नो फेसबुक आह्वानलाई आधार मानेर दृष्टिविहिन दम्पतीका छोरीहरुको अध्ययनको लागि सहयोग गर्नेहरुलाई आभार प्रकट गर्नुभएको छ । ‘‘ बास्तवमा यो एउटा सामाजिक भावनाबाट प्रभावित भएकाहरुले सहयोग गरेर जुटेको हो, हामीले गरेको सहयोगले ति नानीहरुको शिक्षामा सहयोग पुग्छ भन्ने विश्वास लिएको छु, ’’– परियारले भन्नुभयो ।