शान्ति कोषद्धारा पवित्रा बचाउ अभियान सुरु

  • १० बैशाख २०७४, आईतवार
  • 2510 पटक पढिएको

म्याग्दी, १० वैशाख । म्याग्दीको बेनी नगरपालिका –४ तातोपानीकी पवित्रा खत्रीको उपचरामा परोपकारी संस्था ओमकुमारी शान्ति कोषद्धारा आर्थिक संकलन अभियान सञ्चालन भएको छ । फोक्सोमा पानी जमेको र कलेजोमा समेत खराबी देखिएपछि टिचिङ हस्पीटलमा उपचाररत खत्रीको सहयोगार्थ कोषले नन्दु पाईजाको संयोजकत्वमा पवित्रा बचाउ अभियान मार्फत सहयोग जुटाउन थालेको हो । हालसम्म उनको उपचारमा परिवार र आफन्तले करिब दुई लाख रुपैयाँ खर्च गरिसकेका छन् ।

शरिर तथा हातखुट्टा फुल्लिने र सुन्निने भएपछि उनलाई पोखराको फेवा सिटीमा उपचार गर्न लगीएपनि रोग निको नभएपछि काठमाडौंको टिचिङ हस्पिटलमा रिफर गरिएको  पवित्राकी बहिनी पार्वती खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार, खत्रीको अहिले आईसियु कक्षमा उपचार भईरहेको छ । उपचारमा लाखौँ रुपैयाँ आबश्यक पर्ने र घरपरिवारको आर्थिक स्रोत नभएपछि कोष मार्फत सहयोगको आह्वान गरिएको कोषका अध्यक्ष राजेश शाक्यले जानकारी दिनुभयो ।


४० वर्षीया पवित्राका श्रीमानको १० वर्ष पहिले नै निधन भएको र घरमा  १ छोरा र १ छोरी रहेकाले समेत उनको उपचारमा आर्थिक स्रोत जुटाउन परिवारलाई सकस परेको छ । यसैबिच खत्रीको उपचारमा तातोपानीका कुमार केसी, घम्मरबहादुर बानियाँ र तारा कार्कीको पहलमा एकलाख २१ हजार दुईसय ८० रुपैयाँ सङ्कलन गरिएको छ । त्यस्तै अभियानको पहिलो दिन ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसी, उपाध्यक्ष प्रमोद श्रेष्ठ, वर्तमान अध्यक्ष राजेश शाक्य, मोना अन्र्तराष्ट्रियका बरिष्ट उपाध्यक्ष तथा एनआरएन कोरियाका निवर्तमान अध्यक्ष विनोद कुँवर, एनआरएन कोरियाका कार्यवाहक अध्यक्ष आमेनारायण जुग्जाली , चित्र पुनले ५ हजार रुपैयाँका दरले आर्थिक सहयोग गर्नुभएको छ  ।

अभियानको पहिलो दिन नै  तातोपानी र बेनीमा गरी कुल रु १ लाख ६१ हजार २ सय ८०सङ्कलन भएको शान्ति कोषका सचिव लोकेश पुनमगरल जानकारी दिनुभयो । सोही कार्यक्रमको अवसरमा नेपाल उद्योग वाणिज्य महासंघको ५१औं साधारणसभाबाट जिल्ला तथा नगरतर्फ उपाध्यक्षमा निर्वाचित शान्ति कोषका संस्थापक उपाध्यक्ष प्रमोद श्रेष्ठलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा जन्मथलो फर्किएका प्रवासी म्याग्देलीहरुलाई स्वागत गरिएको थियो ।

कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले देशको समृद्धिको लागि कृषि, पर्यटन, जलविद्युत, उद्योग लगायतका क्षेत्रमा लगानी गर्न प्रवासीलाई आग्रह गर्नुभयो । कार्यक्रममा एनआरएन कोरियाका निवर्तमान अध्यक्ष विनोद कुँवर, कावा अध्यक्ष ओमनारायण जुग्जाली र शान्ति कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसीले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम कोषका अध्यक्ष राजेश शाक्यको अध्यक्षता, उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत र सचिव लोकेश पुनको सञ्चालन सम्पन्न भएको थियो ।