जन्मलगत्तै आमा गुमाएकी बालिकाको लागि मोना क्षेत्रीय समिति नागोयाद्धारा आर्थिक सहयोग

  • १३ चैत्र २०७५, बुधबार
  • 2479 पटक पढिएको

कमल खत्री

म्याग्दी, १३ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका– ३ दुलेपानी घर भई रोजगारिको शिलसिलामा जापानमा मृत्युबरण गरेकी एक युवतीको नवजात शिशुको लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) क्षेत्रीय समिति नागोया जापानले आर्थिक सहयोग गरेको छ । नागोयामा रहेका दिनेश दर्जीको पत्नी प्रमिलाले बच्चाको जन्म दिएपछि उनको मृत्यु भएकाले उनको नवजात छोरी प्रसिद्धीको लागि रु ८९ हजार आर्थिक सहयोग गरिएको हो ।

 

सो सहयोग रकम बुधवार बेनीमा आयोजित एक कार्यक्रममा मोना क्षेत्रीय समिति नागोयाका अध्यक्ष रुपेश चोचाङ्गी मगर, कोषाध्यक्ष रामबहादुर किसान र सदस्य टेकप्रसाद पौडेलले दिनेशकी आमा गुमा र बहिनी सपनालाई हस्तान्तरण गर्नुभएको थियो । नागोयामा रहेका म्याग्देली र नेपालीहरु मार्फत संकलन भएको सहयोग रकमलाई नवजात शिशुको शिक्षा र भविश्यमा राहत पुगोस भन्ने उदेश्यले सहयोग गरिएको मोना क्षेत्रीय समिति नागोयाका अध्यक्ष रुपेश चोचाङ्गी मगरले बताउनुभयो ।

बे्रन ट्युमरबाट पिडित भई नवजात बालिकाको आमाको जापानमै मृत्यु भएपछि अहिले बालिकालाई स्वदेशमा घरमै राखेर घरपरिवारले पालनपोषण गरेका छन् । क्षेत्रीय समिति नागोयाले आर्थिक अभाबको कारण उपचार गराउनबाट बञ्चित भएकाहरु र दैविक प्रकोप पिडित, अस्पतालको सैयामा पुगेर आर्थिक अभाबको कारण छटपटाइरहेकाहरुलाइ राहत सहयोग गर्दै आएको छ ।

‘‘ यस क्षेत्रमा हामी अधिकाँश विद्यार्थी छौँ, कलेज र रोजगारिको समय व्यवस्थापन अत्यन्तै कठिन हुन्छ, तैपनि हामीले आफ्नो गास कटाएरै भएपनि सामाजिक कामहरुमा सहकार्य गर्दै आएका छौँ’’–अध्यक्ष चोचाङ्गीले भन्नुभयो ।
जापानमा पुगेर काम नपाएर अलपत्र परेकाहरुलाई समेत कम्पनीहरुसंग समन्वय गरि रोजगारिको प्रवन्ध मिलाउने ,विरामी भएर अलपत्र परेकाहरुको उपचारमा सघाउने, काममा समेत सहयोग र पहल गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

अध्ययन, रोजगार र व्यापार व्यवसायको शिलसिलामा जापान पुगेका म्याग्देली र नेपालीहरुसंग सहकार्य गरि सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको कोषाध्यक्ष रामबहादुर किसालने जानकारी दिनुभयो ।