सम्भावनाहरुको खोजी गरी लगानी बढाऔँः महासंघका उपाध्यक्ष ढकाल

  • ७ बैशाख २०७४, बिहीबार
  • 2432 पटक पढिएको

म्याग्दी, ६ वैशाख । नेपाल उद्योग बाणिज्य महासंघका नवनिर्वाचित उपाध्यक्ष चन्द्रप्रसाद ढकालले समृद्धिको लागि सम्भावनाहरुको खोजी गरि लगानी बढाउनुपर्ने बताउनुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघले विहिवार बेनीमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै महासंघका एसोसियर्ट तर्फका उपाध्यक्ष ढकालले सम्भावनाहरुको खोजी र पहिचान गरि लगानी बढाउन सकेमा मात्रै त्यसले सार्थकता पाउने धारणा राख्नुभयो ।
म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष जिवनबहादुर विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उहाँले म्याग्दीमा जलविद्युत, पर्यटन लगायतको क्षेत्रमा धेरै सम्भावना भएकाले यस क्षेत्रको विकासमा आफुले समेत हातेमालो गर्ने प्रतिबद्धता जनाउनुभयो । उपाध्यक्ष ढकालले महासंघको आगामी साता बस्ने पहिलो बैठकले उद्योगी व्यवसायिका विभिन्न क्षेत्रमा देखिएका अधिकाँश समस्याहरु हल गर्न प्रयास गर्ने समेत बताउनुभयो ।


‘‘ महासंघको सचिबालयलाई हामीले चुस्त बनाउन खोजेका छौँ, सचिबालय व्यवस्थापनले सबै उद्योगी व्यवसायिहरुबाट आउने समस्याहरुको पहिचान गरि समाधानमा सहयोग पुग्छ,’’–उपाध्यक्ष ढकालले भन्नुभयो । उहाँले उद्योगी व्यवसायिहरुको चाहना बमोजिम आफुले आफ्नो जिम्मेवारी पुरा गर्ने समेत बताउनुभयो ।


कार्यक्रममा बोल्दै महासंघका जिल्ला तथा नगर तर्फको उपाध्यक्षमा नवनिर्वाचित प्रमोद श्रेष्ठले उद्योगी व्यवसायिहरुका समस्याहरु धेरै रहेकाले महासंघले चरणबद्ध रुपमा समस्याहरुलाई सम्बोधनको लागि सरकारलाई दबाब दिने बताउनुभयो । उहाँले आगामी आर्थिक बर्षको निती तथा कार्यक्रमहरु समेत निजी क्षेत्रलाई उत्साहित हुने गरि तयार गर्न सरकारलाई आग्रह गर्नुभयो ।


कार्यक्रममा व्यवसायिहरुले सरकारले राखेको थे्रस होेल्डको सिमा बढाउन र विभिन्न आयोजनाहरुमा देखिएको समस्या समाधानमा सरकारको ध्यानकर्षण गराउनुपर्ने सुझाब राखेका थिए । कार्यक्रममा नवनिर्वाचित उपाध्यक्ष ढकाललाई फुलमाला लगाएर स्वागत तथा सम्मान समेत गरिएको थियो ।

संघका अध्यक्ष विश्वकर्माले स्वागत गर्नुभएको कार्यक्रममा पूर्व अध्यक्ष कुविर कुमार श्रेष्ठले जिल्लाको समस्या र सम्भावनाहरुको बारेमा प्रकाश पार्नुभएको थिया। सचिब लिलाराम गौतमले सञ्चालन गर्नुभएको कार्यक्रमको बरिष्ट उपाध्यक्ष उत्तम कुमार कर्माचार्यले धन्यबाद सहित समापन गर्नुभएको थियो ।