नेताहरुलाई हौसाउँदै प्रचण्डले भने- काठमाडौंको मेयरमा मै उठौं जस्तो लागिरहेको छ

  • ५ बैशाख २०७४, मंगलवार
  • 1853 पटक पढिएको

५ बैशाख । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी स्थायी समिति सदस्यहरुलाई स्थानीय चुनाव लड्न प्रस्ताव गरेका छन् ।

मंगलबार पार्टीको प्रदेश नम्बर ३ को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्थानीय सरकारको चुनाव भएकाले यसलाई कम नआँक्न नेताहरुलाई आग्रह गरे ।

‘स्थानीय तहको चुनाव २० वर्षपछि हुन लागेको होइन, स्थानीय सरकारको पहिलो चुनाव हो’ उनले भने, वडा अध्यक्ष जित्ने हो भने पोलिटब्यूरो सदस्यहरु गए हुन्छ । स्थानीय समितिका सदस्यहरु पनि गाउँपालिका प्रमुख जित्दा केही फरक पर्दैन ।’

स्थानीय सरकारको महत्व दर्साउने क्रममा उनले काठमाडौंको मेयरमा आफैं चुनाव लडौं जस्तो लागेको सुनाए । ‘काठमाडौं महानगरपालिकामा त मै उठौं-उठौं जस्तो लागिरहेको छ, त्यति धेरै महत्व छ यसको’ उनले भने ।

बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले मेयरमा आफैं चुनाव लड्छु भनेका होइन । पार्टी नेताहरुलाई स्थानीय सरकारको महत्व बुझाउन र हौसाउन काठमाडौंको मेयरमा आफैं चुनाव लडौं जस्तो लागेको सुनाएका मात्र हुन् ।

आफ्नो सरकारले उज्यालो नेपालको नारा स्थापित गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले काठमाडौंको जनमत माओवादीसँग रहनु पर्ने बताएका छन् ।

बैठकमा नेताहरुले तीन नम्बर प्रदेशमा पार्टीको अवस्था राम्रै रहेको रिपोर्टिङ गरेको छन् ।

source: online.com