म्याग्दीका दलहरु उम्मेदवार छनौटको गृहकार्यमा व्यस्त

  • ५ बैशाख २०७४, मंगलवार
  • कमल खत्री
  • 2885 पटक पढिएको

म्याग्दी, ५ बैशाख  । बैशाख ३१ गते हुने स्थानीय निर्वाचनको लागि म्याग्दीका राजनीतिक दलहरुले उम्मेदवार छनौटको गृहकार्यलाई अगाड बढाएका छन् । निर्वाचनमा नतिजा आफ्नो पक्षमा पार्नका लागि  जिल्लामा क्रियाशिल राजनीतिक दलहरुले चुनाब प्रचार अभियान चलाएका छन् । नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र) सहित राप्रपा लगायतका राजनीतिक दलहरुले जिल्लाको एक नगरपालिका सहित चार गाउँपालिकामा चुनाब प्रचार अभियानलाई तिब्रता दिएका हुन् ।

रघुगंगा गाउँपालिकामा मात्रै केन्द्र विवादले वडा कार्यालयहरु समेत सञ्चालनमा आउन नसकेको कारण चुनाबी कार्यक्रम हुन सकेको छैन् ।  चुनाबी अभियानलाई प्रभाबकारी बनाउन दलहरुले नयाँ स्थानीय तह अनुसारको जनबर्गिय र भातृय संगठनहरुको गठन, पुर्नगठन संगै कार्यकर्ता भेटघाटलाई तिब्रता दिएको देखिन्छ । निर्वाचन आउन एक महिना मात्रै बाँकी रहेकाले यहाँका दलहरुले निर्वाचनको लागि आफ्नो पार्टीको तर्फबाट उठाउने उम्मेदवारहरुको पनि टुङ्गो लगाउने कसरतमा जुटेका छन् ।

लामो समयपछि स्थानीय चुनाब हुन लागेको कारण पनि हरेक जसो दलहरुबाट उम्मेदवार बन्नेहरुको संख्या बढी छ । तर स्थानीय तह पुनर्संरचना भएर गाउँपालिका र नगरपालिकामा चुनाब हुन लागेको र निर्वाचनबाट चुनिने जनप्रतिनिधीको काँधमा गाउँपालिका र नगरपालिकाको विकासको खाका तयार गर्न सक्ने सक्षम व्यक्तिहरुलाई उम्मेदवार बनाउनुपर्ने चुनौती छ ।

‘‘ आम रुपमा मतदाताले पार्टी भन्दा पनि नेतृत्वलाई हेरेर भोट दिन सक्छन्, जस्ले गाउँपालिका र नगरपालिकाको समृद्धिको लागि काम गर्न सक्छ उनीहरुलाई नै दलहरुले उम्मेदवार बनाउनुपर्छ,’’–  बेनीमा लामो समयदेखि सञ्चारकर्मीको रुपमा सक्रिय रहेका पदम विश्वकर्माले भने । उनले अबको स्थानीय तहको कार्यान्वयनले जनतालाई प्रशस्त अधिकार दिने देखिएकाले स्थानीय तहको समृद्धिको नेतृत्व गर्न सक्षम र योग्य उम्मेदवारहरुलाई मात्रै मतदाताले मतदान गर्नुपर्ने धारणा राख्छन् ।

म्याग्दीका दलहरुले निर्वाचन प्रचार अभियानलाई प्रभाबकारी बनाउन बैशाख पहिलो साताभित्रै उम्मेदवारको टुंगो लगाईसक्ने तयारी गरेका छन् । बिशेष गरि जिल्ला सदरमुकाम समेत रहेको बेनी नगरपालिकाको उम्मेदवार टुंगो लगाउन दलहरुलाई हम्मेहम्मे परेको देखिन्छ । क्रियाशिल सबै जसो दलहरुमा नगरपालिका प्रमुख र उपप्रमुख पदको उम्मेदवार बन्न धेरैजान इच्छुक देखिन्छन् ।

नेपाली काँग्रेसबाट बेनी नगरपालिकाको प्रमुखको उम्मेदवारका लागि हरिकुमार श्रेष्ठ, मीनबहादुर कार्की, नेत्रबहादुर महत, अनोद श्रेष्ठ, अमृतादेवी बानिया, रुद्रबहादुर केसी र बिमला गौचन आकाङ्क्षी छन ।

नेकपा एमालेबाट सुरत केसी, प्रमोद श्रेष्ठ, सन्तोष रावल,  राजकुमार थापा, देवबहादुर घलेको नाम चर्चामा छ । त्यस्तै नेकपा (माओवादी केन्द्र) मा कृष्णबहादुर थापा, चन्द्रबहादुर घिमिरे, शेरबहादुर केसी, विनोद केसी, ज्योति लामिछाने र राप्रपाबाट एकेन्द्र रावल नगर प्रमुखको उम्मेदवार बन्न इच्छुक रहेको देखिएको छ ।  नगरपालिका बाहेक, अन्नपूर्ण, मालिका, मंगला र धौलागिरी गाउँपालिकामा समेत दलहरुले उम्मेदवारहरुको छनौटलाई तिब्र पारेका छन् । नेपाली काँग्रेस म्याग्दीले गाउँ कमिटी र नगर कमिटीलाई योग्य उम्मेदवारहरुको छनौट गरि सुचि पेश गर्न निर्देशन दिएको जिल्ला सचिब क्याप्टेन मिनबहादुर कार्कीले जानकारी दिए ।

‘‘मालिकामा श्रीप्रसाद बुढा र अन्नपूर्णमा डमबहादुर पुनलाई अध्यक्षको उम्मेदवार बनाउने गरि सर्वसम्मत रुपमा निर्णय आईसकेको छ , सबैक्षेत्रबाट सुचि आएपछि जिल्ला पार्टीले त्यसको टुंगो लगाउँछ,’’–उनले भने । नेपाली काँग्रेस म्याग्दीले उम्मेदवार छनौट गर्दा स्वच्छ छवि भएको, नयाँ संरचनामा काम गर्न सक्ने क्षमतावान र अग्रज नेताहरुको भावनालाई मध्यनजर गर्ने गरि उम्मेदवार छनौट गर्ने जनाएको छ । नेकपा एमालेले बैशाख ७ गतेभित्रै गाउँपालिका , वडा र नगरपालिकाका उम्मेदवारहरुको टुंगो लगाउने गरि उम्मेदवार छनौटको गृहकार्यलाई तिब्र बनाएको छ ।

‘‘केही वडाहरुबाट सर्वम्मत रुपमा अध्यक्ष पदको उम्मेदवारको टुंगा लगाईसकिएको छ, सकभर सर्वसम्मत रुपमै उम्मेदवारहरुको टुंगो लगाउने कसरत गरेका छौँ,’’–एमाले म्याग्दीका सचिब बालकृष्ण सुवेदीले भने । एमालेले जेष्ठता, लोकप्रियता, सामाजिक कार्यमा पोख्त भएको र आर्थिक तथा नैतिक आचरण राम्रो भएका व्यक्तिलाई उम्मेदवार बनाउने आधार बनाएको जनाएको छ । यता नेकपा (माओवादी केन्द्र)ले नयाँ संरचनामा नेतृत्व वहन गर्न सक्ने र विकासलाई गति दिने क्षमतावान व्यक्तिहरुलाई प्राथमिकतामा राखेर उम्मेदवार चयन गर्न आफु मातहतको नगर र गाउँपालिका र वडा कमिटीहरुलाई निर्देशन दिएको छ ।

‘‘माओवादीको जनयुद्धको जगबाट प्राप्त संघियता, समानुपातीक समावेशीता, धर्मनिरपेक्षता, दलित, महिला, जनजातीहरुका अधिकारलाई संरक्षण गर्दै समृद्धिको दिसातर्फ स्थानीय तहलाई डोहोराउन सक्ने व्यक्तिहरुलाई नै हामीले उम्मेदवारको लागि प्राथमिकता दिएका छाँै,’’– माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पौडेलले भने । उनले युवाहरुलाई प्राथमिकता दिएर उम्मेदवार बनाउने तयारी गरेको समते बताए । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीमा दुई सय ३७ जनप्रतिनिधि निर्वाचित हुने भएका छन । ७२ वटा मतदानस्थल रहेको म्याग्दीमा ३७ हजार ६ सय ७२ महिला, ३३ हजार सात सय ६० पुरुष र एकजना तेस्रोलिङ्गी गरी ७१ हजार चार सय ६३ जना मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l