शिख माविको भवन उद्घाटन

  • २ बैशाख २०७४, शनिबार
  • 2363 पटक पढिएको

म्याग्दी, १ बैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा अवस्थित शिख माविको नवनिर्मित भवनको शुक्रबार उद्घाटन गरिएको छ । जिल्ला शिक्षा कार्यालय म्याग्दीको ३२ लाख, सांसद् विकास कोष मार्फत दश लाख, साविकको शिख गाविसबाट साढे ८ लाख रुपैयाँ र शिखबासीबाट करिब एक करोड भन्दा बढी आर्थिक सहयोग गरि जम्मा एक करोड ४० लाख रुपैयाँको लगानीमा छ कोठे भवन निर्माण भएको थियो ।

उक्त भवनको जिल्ला शिक्षा कार्यालयका निमित्त जिल्ला शिक्षा अधिकारी विश्वप्रकाश रेग्मी, विद्यालय निरिक्षक दलबहादुर थापा, शिख्तानी समाज पोखराका अध्यक्ष एवँ आर्थिक संकलन समितिका संयोजक क्या. बलबहादुर पुन, ओमबहादुर तिलिजा, उमेश गर्बुजा लगायतले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरेका हुन् ।

दुईबर्षअघिको विनाशकारी भूकम्पका कारण जीर्ण बनेको भवनलाई स्थानान्तरण गर्दै जिशिकाले नयाँ भवन बनाउन प्रस्ताब गरेको थियो । शिक्षा कार्यालयबाट चार कोठे भवन निर्माणका लागि बजेट विनीयोजन भएपनि विद्यालयले स्थानीयस्तरबाटै सहयो जुटाएर छ कोठे भवन निर्माण गरेको बताईएको छ ।

भवन उद्घाटन समारोहमा बोल्दै निमित्त जिल्ला शिक्षा अधिकारी रेग्मीले स्थानीयस्तरबाट भएको सहयोगको खुलेर प्रशंसा गर्नुभयो । उहाँले आगामी दिनमा पनि सहयोग गर्न तयार रहेको भन्दै स्थानीयबासीको एकता नमुना योग्य भएको बताउनुभयो ।

विद्यालयका सहायक प्रधानाध्यापक केदारबहादुर कार्कीले स्वागत गरेको कार्यक्रममा फेसबुक म्यासेन्जरबाट युकेमा रहेका शिख्तानी समाज युकेका अध्यक्ष एवँ सहयोगदाता दानबहादुर तिलीजा, शिख्तानी समाज पोखराका अध्यक्ष क्या. बलबहादुर पुन, समाजसेवी दिनेश तिलिजा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर बुदुजा पुन, विद्यालयका प्रधानाध्यापक जगदिश आचार्य, घोरेपानीका समाजसेवी क्या. डमबहादुर पुन, शिख माविका निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बागबीर पाइजा लगायत शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यालयलाई नमुना बनाउन सबैले सहयोग गर्नुपर्न बताउनुभयो । कार्यक्रममा स्थानीय पूख्र्योली नृत्य समूहले पूख्र्यौली नृत्य र विद्यार्थीले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक सेते तिलिजा पुनले जानकारी दिनुभयो ।

विद्यार्थीलाई निशुल्क टाइ बेल्ट

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा अवस्थित शिख माविलै विद्यार्थीलाई टाई बेल्ट व्यवस्था गरेको छ । नयां शैक्षिक सत्र सुरु भएसँगै विद्यार्थीलाई विद्यालय र पठनपाठन प्रति थप अभिरुची बढाउन यस्तो व्यवस्था गरिएको विद्यालयका सहायक प्रधानाध्यापक केदार कार्कीले जानकारी दिनुभयो । करिब दुई सय विद्यार्थीलाई निशुल्क टाई बेल्ट वितरण गरिएको उनले जानकारी दिनुभयो ।