धौलागिरी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि धनजनतालाई

  • २९ पुष २०७५, आईतवार
  • 2580 पटक पढिएको

गोपाल आचार्य,
शिवाङ २९ पुष । धवलागिरी गाउँपालिकाको आयोजनामा आइतबार शिवाङमा सम्पन्न अन्तर माध्यमिक विद्यालय स्तरीय छात्र/छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७५ को उपाधी धनजनता माविले जितेको छ ।१० स्वर्ण, ७ रजत र १ कास्य सहित कुल १८ वटा पदक जितेर प्रथम भएको फलीयागाउँको धनजनता माविले रनिङ्ग शिल्ड, कप, मेडल र प्रमाणपत्र सहित नगद ४५ हजार रुपैयाँ हात पारेको छ ।

१० स्वर्ण, ४ रजत र ४ कास्य सहित १८ वटा पदक जितेर दितृय भएको हेम माविले कप, मेडल र प्रमाणपत्र सहित नगद तीस हजार रुपैयाँ प्राप्त गरेको छ ।२ स्वर्ण, ४ रजत र ४ कास्य सहित १० वटा पदक जितेको चन्द्रज्योती मावि खिवाङ्गगले कप, मेडल र प्रमाणपत्र सहित बीस हजार रुपैयाँ प्राप्त गरेको छ । शिवाङको हेम मावि परिसरमा चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा भलिबल र एथलेटिक्स बिधाका २८ वटा खेल सञ्चालन भएका गाउँपालिकाको शिक्षा शाखाका संयोजक गिरिप्रसाद छन्त्यालले जानकारी दिनुभयो ।

धवलागिरी गाउँपालिकाका १० वटा विद्यालयले सहभागिता जनाएका थिए । छात्र भलिबलतर्फ जनविकास मावि मराङ प्रथम र धनजनता मावि दितृय भएका छन् । छात्रा भलिबलमा धनजनता मावि प्रथम र ताकम मावि दितृय भएका छन् ।

भलिबलको छात्रतर्फ दिनेश लाम्गादे र छात्रातर्फ थममाया भण्डारी उत्कृष्ट खेलाडी घोषीत भए । एथलेटिक्सको छात्रतर्फ चन्द्रज्योतीका नरबहादुर बुढा र छात्रातर्फ हेम माविकी सुस्मिता सुवेदीले उत्कृष्ट खेलाडीको उपाधि पाए । मार्च पासमा हेम मावि शिवाङ उत्कृष्ट भएको छ ।

गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुन, गाउँपालिकाका अध्यक्ष थमसरा पुन, उपाध्यक्ष रेशम छन्त्याल, मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालु, गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक राजाराम सुवेदी, मन्त्री पुनका स्व्कीय सचिव बेगप्रसाद गर्बुजा लगायतले बिजेता बिद्यालय र खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो ।

मन्त्री पुनले गण्डकी प्रदेशका सबै स्थानीय तहमा प्राबिधिक शिक्षालय सञ्चालन र प्रत्येक स्थानीय तहमा राष्ट्रिय मापदण्ड अनुसारको खेलमैदान निर्माण गर्न लागिएको जानकारी दिनुभयो । विकास योजना, सामाजिक समस्या न्युनीकरण र जनताको समस्यामा आफूले सक्दो पहल र प्रयास गरिरहेको मन्त्री पुनको भनाई थियो ।