बेनीमा खानेपानी आपुर्ती बढ्यो

  • ३१ चैत्र २०७३, बिहीबार
  • सन्तोष गौतम
  • 2563 पटक पढिएको

म्याग्दी, ३१ चैत । बेनीमा खानेपानी आपुर्ती बढेको छ । बेनी खानेपानी आयोजनाको क्षमत्ता विस्तार भएपछि खानेपानीको वितरण सहज हुने अपेक्षा गरिएको छ । बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आयोजनाको क्षमत्ता विस्तार गरेको हो । आयोजनाको क्षमत्ता विस्तार भएपछि म्याग्दी सदरमुकाम बेनी बजारमा चौबिसै घण्टा नियमित खानेपानी आपूर्ती हुने संस्थाले जनाएको छ । १५ महिनाअघि सुरु भएको क्षमत्ता विस्तार योजनाको बिहीबार गरिएको परिक्षण सफल भएको छ ।

राम्चे र बाँसखर्कको सिमानामा पर्ने पुम्दी र रिठाखर्कको मुहानबाट आयोजनाको टंकीसम्म १० किलोमिटर पाईपलाईनबाट थप बिस लिटर प्रतिसेकेण्ड पानी आपुर्ती गरिएको हो । नयाँ पाईपलाईनबाट आपूर्ती भएको पानी तत्काललाई पुरानै टंकीबाट वितरण गरिएको छ ।  वितरण पाईपलाईन विस्तारका साथै नयाँ टंकी निर्माण कार्यले पूर्णता पाएपछि व्यवस्थित रुपमा खानेपानी वितरण हुने संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठले बताउनुभयो ।  यसअघि पुम्दी खोला र कोप्रे दुधेखोलाको मुहानबाट प्रतिसकेण्ड १२ लिटरका दरले पानी आपूर्ती हुदै आएको थियो ।

हाल प्रति सेकेण्ड बिस लिटर खानेपानीको माग रहेको बेनीमा आलोपालो प्रणाली (लोडसेडीङ¬¬) गरेर खानेपानी वितरण गरिदै आएको संस्थाका प्रबन्धक चन्द्रबहादुर थापाले बताउनुभयो । माग अनुसार खानेपानी आपूर्ती नहुँदा उपभोक्ताले बैकल्पीक स्रोतबाट पानीको व्यवस्था गरेका थिए ।संस्था अन्तरगत ९५० घरधुरी उपभोक्ता छन् । थप पचास घरधुरी उपभोक्ता थपिने क्रममा छन् । अहिलेको जनसंख्या वृद्धीदर अनुसार आगामी दश वर्षसम्मका लागि आयोजनाबाट सबै उपभोक्ताको घरमा नियमित शुद्ध खानेपानी आपुर्ती गर्ने संस्थाका सचिव माधवप्रसाद रेग्मीले बताउनुभयो । क्षमत्ता विस्तारका क्रममा दश किलोमिटर नयाँ पाईपलाईन, मुहानमा ईन्टेक, दुई लाख लिटर क्षमत्ताको रिजर्भ टंकी, कार्यालयको तला थप, टंकी क्षेत्रमा कर्मचारी क्वाटर भवन निर्माण भएको छ । आयोजनाको क्षमत्ता विस्तार योजनाका लागि लुम्बीनी बिल्डर्ससंग ६ करोड ४२ लाख रुपैयामा सम्झौता भएको कोषाध्यक्ष याम शाक्यले बताउनुभयो । लक्ष्य अनुसारकै समय अवधिमा आयोजनाको काम सकिएको हो । क्षमत्ता विस्तार योजनामा सरकारको सत्तरी प्रतिशत अनुदान र उपभोक्ताको तिस प्रतिशत लगानी भएको छ । उपभोक्ताबाट पाँच प्रतिशत नगद संकलन र २५ प्रतिशत नगर विकास कोषबाट ऋण लिएर आयोजनाको क्षमत्ता विस्तार गरिएको कोषाध्यक्ष शाक्यले बताउनुभयो ।

सन्तोष गौतम