म्याग्दीमा स्थानीय चुनाबको सरगर्मी, उम्मेदवार बन्न युवाहरु आँकाक्षी

  • २७ चैत्र २०७३, आईतवार
  • कमल खत्री
  • 2715 पटक पढिएको

म्याग्दी, २७ चैत । स्थानीय तहको निर्वाचन नजिकिएसंगै म्याग्दीमा चुनाबी सरगर्मी बढेको छ । जिल्लामा क्रिायाशिल, नेकपा एमाले, नेकपा (माओवादी केन्द), नेपाली काँग्रेस, राप्रपा लगायतका राजनीतिक दलहरुले चुनाबकेन्द्रित आम सभा, कार्यकर्ता भेला, बैठक तथा सम्मेलनहरुलाई तिब्रता दिएका छन् । सरकारले चुनाव घोषणा गरेपछि जिल्लाका नेताहरूले कार्यकर्ता र मतदाता भेटघाटलाई बाक्लो बनाएका छन् ।


एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीमा दलहरु स्थानीय निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्नको लागि कसरत थालेका हुन् । गाउँपालिकाको केन्द्र विवादले रघुगंगा गाउँपालिकाको राखु पिप्ले, भगवती र बेगखोला क्षेत्रका बासिन्दाहरुले समस्या समाधान नभएसम्म निर्वाचन बहिस्कार अभियान चलाएपछी त्यस क्षेत्रमा निर्वाचन सम्बन्धि कुनै गतिविधि भएका छैनन् ।
अन्य चार गाउँपालिका सहित बेनी नगरपालिकामा दलहरुले आफ्नो चुनाबी एजेण्डाहरुलाई जनतासामु पु¥याउनका लागि गाउँपालिका र वडा केन्द्रित सभा तथा कार्यकर्ता भेला लगायतका कार्यक्रमलाई जोड दिएका छन् । चुनाबी कार्यक्रमहरुसंगै जिल्लामा रहेका दलहरुले नगरपालिका र गाउँपालिकाको प्रमुख र उप–प्रमुख पदका उम्मेदवार छनौटको गृहकार्यलाई समेत अगाढी बढाएका छन् । लामो समयपछि स्थानीय निर्वाचन हुन लागेकाले पनि सबै क्रियाशिल दलहरुमा नगर र गाउँपालिका प्रमुख र उपप्रमुख पदमा स्वभाविक रुपमा आकांक्षीहरु धेरै देखिन्छन् ।
नेकपा एमाले म्याग्दीका उपसचिब देबबहादुर घलेले नगरपालिकाको प्रमुख पदको उमेदवारमा पार्टीको तर्फबाट धेरैको आकाँक्षा राखेको बताउनुभयो ।‘‘ धेरै युवा साथीहरुले नगरप्रमुखको दावि गर्नुभएको छ, उहाँहरु सबैको सम्मान हुने गरि पार्टीले योग्य उम्मेदवार चयन गर्नेछ,’’– घलेले भन्नुभयो। उहाँका अनुसार, एमालेमा नगरप्रमुख देखि गाउँपालिका र वडा अध्यक्ष पदको लागि युवाहरु पनि उम्मेदवार बन्न इच्छुक देखिएका छन् ।
नेपाली काँग्रेसमा पनि स्थानीय तह निर्वाचनमा विभिन्न पदहरुमा युवाहरुले नै आकाँक्षा देखाएका छन् । काँग्रेसको मालिका गाउँपालिका स्तरीय कार्यकर्ता भेलाले गाउँपालिका प्रमुखमा मालिका गाउँपालिका–६ दुखुका युवा श्रीप्रसाद रोकालाई गाउँपालिका प्रमुखमा उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । ‘ म सक्रिय रुपमा राजनीतिमा लागेको धेरै भएको छैन, युवाहरुको भूमिकलाई सम्मान गर्दै पार्टीले मलाई महत्वपूर्ण जिम्मेवारी दिएको छ, त्यसलाई मैले कुसलतापुर्वक निर्वाह गर्नेछु,’’– गाउँपालिका प्रमुखका उम्मेवार रोकाले भन्नुभयो । नगरपालिका, गाउँपालिका र वडा अध्यक्ष र उपाध्यक्ष देखि अन्य पदहरुमा समेत युवाहरुले बढी उम्मेदवार बन्न दावि पेश गरीरहेको नेपाली काँग्रेसका जिल्ला सभापती खमवीर गर्वुजाले बताउनुभयो।
‘‘ अहिले गाउँपालिका स्तरबाट उम्मेदवारहरुको छनौट प्रकृया सुरु भएको छ, कतिपय ठाउँमा त त्यहाँको पार्टी कमिटीले सर्वसम्मत रुपमा गाउँपालिका प्रमुख र वडा अध्यक्ष पदका उम्मेदवारहरुको टुंगो लगाईसकेका छन् , ती कमिटीबाट आएका सिफारिसको आधारमा जिल्ला कार्यसमितीले उम्मेदवारहरुको अन्तिम टुंगो लगाउँछ,’’–सभापती गर्वुजाले भन्नुभयो । लामो समयपछि स्थानीय तहको चुनाब हुन लागेको कारण पनि युवाहरु बढी नेतृत्वमा पुग्ने अपेक्षा सहित आ–आफ्नो पार्टीबाट विभिन्न पदको उम्मेदवार बन्न इच्छुक देखिएका छन् । स्थानीय तह पुर्नंरचनाले राज्यका सेवा सुविधा गाउँ गाउँ पुग्ने र त्यहाँको समस्या र सम्भावनाको उजागर आफै गर्नुपर्ने ऐतिहाँसिक परिस्थिती भएकाले पनि युवाहरु बढी उम्मेदवारको आकाँक्षी देखिएको नेकपा (माअ‍ोवादी केन्द्र) म्याग्दीका जिल्ला संयोजक गोविन्द पौडेलले बताउनुभयो ।
उनले आफ्नो दलमा नगरपालिका, गाउँपालिका र वडा अध्यक्ष पदहरुमा युवापुस्ताले नै नेतृत्व गरेकाले स्थानीय निर्वाचनमा समेत सोही अनुसार युवाहरुलाई उम्मेदवार बनाउने तयारी गरेको बताउनुभयो । ‘‘ धेरै ठाउँहरुमा युवाहरुलाई नै उम्मेदवार बनाउन सुझाब र दावी आएको छ, अग्रजको सम्मान र युवाको नेतृत्व हुने गरि उम्मेदवार छनौट गर्छौ, परिवर्तनका सम्बाहक युवाहरुको नेतृत्व अहिलेको आबश्यकता पनि हो’’–संयोजक पौडेलले भन्नुभयो।
नेकपा माओवादी केन्द्रले वडा अध्यक्ष देखि सदस्यहरुको टुंगो सम्बन्धित वडाको सिफारिसमा गाउँपालिका र नगरपालिका स्तरीय पार्टी कमिटीले निर्णय गर्ने र जिल्ला कमिटीले स्विकृत गर्ने र गाउँपालिका र नगरपालिकाको पदाधिकारी पदको उम्मेदवारहरुको छनौट भने सम्बन्धित कमिटीको सिफासिरमा जिल्ला कमिटीले निर्णय गर्ने र प्रदेश कमिटीले स्विकृत गर्ने कार्यविधि बनाएको छ । राज्यपुर्नंसरचना पश्चात पहिलो पटक स्थानीय तहको निर्वाचन हुन लागेकाले पनि नगरपालिका र गाउँपालिकाको प्रमुख, उपप्रमुख पद हत्याउन प्रमुख दलको प्रतिष्ठाको विषय बनेको देखिन्छ । बिशेष गरि सामाजिक सञ्जालहरुबाट पनि दलहरुलाई युवाहरुले नेतृत्वको अबसरको लागि दबाब दिन थालेका छन् ।
विगतमा भएका चुनावी मत परिणामलाई हेर्दा म्याग्दीमा अब हुनलागेको चुनावमा एमाले, काँग्रेस र नेकपा (माओवादी केन्द्र) का उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । स्थानीय तहको निर्वाचनको लागि म्याग्दीमा १२ वटा राजनीतिक पार्टीले निर्वाचन कार्यालयमा दल दर्ता गराएका छन् । निर्वाचनको मिती नजिकिएसंगै जिल्ला निर्वाचन कार्यालय र जिल्ला स्थित सुरक्षा निकायले समेत आफ्नो तयारीलाई तिब्र बनाएको जनाएका छन् ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l