धौलागिरी गाउँपालीकाको केन्द्र बिवाद समाधान

  • २५ चैत्र २०७३, शुक्रबार
  • 3774 पटक पढिएको

बेनी २५ चैत । स्थानीय तह पुनसंरचना र कार्यान्वयनका क्रममा म्याग्दीको धौलागिरी गाउँपालीकाको केन्द्रको विषयमा उत्पन्न बिवाद समाधान भएको छ । जिल्ला समन्वय समितिको पहलमा शुक्रबार बेनीमा भएको छलफलमा तिन बुदे सहमती भएपछि केन्द्र बिवाद टुङ्गीएको हो ।

सहमतीको पहिलो नम्बर बुदाँमा राजपत्रमा उल्लेख भए अनुसार तत्काललाई गाउँपालीकाको केन्द्र मुनाबाट सञ्चालन गर्ने र जनप्रतिनिधि निर्वाचित भएपछि सर्वपक्षिय भेला गरी समृद्ध धौलागिरीको खाका कोर्ने विषयमा छलफलसंगै सर्वसहमतीमा उपयुक्त ठाउँमा केन्द्र कायम गर्ने सहमती भएको छ ।

यसैगरी वडा कार्यालयसंग समन्वय गरी गाउँपालीकाले सबै वडाहरुमा घुम्ती सेवा दिने र निर्वाचन अधिकृतको कार्यालय मुना बाहेकको ठाउँमा राख्न सम्भव भए नभएको विषयमा अध्ययन गर्न पहल गर्ने सहमती भएको छ ।

छलफलमा सांसदत्रय नवराज शर्मा, नरदेवी पुन, रेशमबहादुर बानिया, राजनितिक दलका जिल्ला, ताकम र मुनाका प्रतिनिधिहरुको उपस्थिती दुई दिनसम्म छलफल भएको थियो । केन्द्रको बिवाद समाधान भएपछि गाउँपालीका कार्यान्वयन र निर्वाचनको सहज वातावरण बनेको स्थानीय विकास अधिकारी प्रेमराज गिरीले बताउनुभयो ।

तत्काललाई अस्थाई केन्द्रबाटै गाउँपालीकाको कार्य सञ्चालन हुने र पछि अल्पमत, बहुमत नभनिकन सर्वसहमतीमा उपयुक्त ठाउँमा केन्द्र राख्नेगरी समझदारी बनेको स्थानीय विकास अधिकारी गिरीले जानकारी दिनुभयो । स्थानीय तह पुनसंरचनाका लागि गठित तत्कालीन जिल्ला प्राबिधिक सहयोग समितिले धौलागिरी गाउँपालीकाको केन्द्र ताकम मुना सिफारीस गरेको थियो ।

राज्य पुनसंरचना आयोगको सिफारीसमा साविक मुना गाविसको कार्यालयलाई गाउँपालीकाको अस्थाई केन्द्र कायम भएपछि ताकमका बासिन्दाले पूर्वाधारको उपलब्धता, भौगोलिक सुगमता, बस्ती विकासको सम्भावना, विपद्को जोखिम नभएको लगायतका कारणले ताकममा केन्द्र बनाउनुपर्ने माग राख्दै आन्दोलन गरेका थिए ।

गाउँपालीका कार्यालय स्थापना गर्न बेनीबाट गएको निमित्त कार्यकारी अधिकृतको टोलीलाई ताकमका बासिन्दाले बाटैबाट फर्काएका थिए । सडक अवरुद्ध र हडतार गरेर आन्दोलनमा उत्रिएका थिए । ताकम र मुनाका अगुवाहरुले विगतका तित्ततालाई बिर्सीएर गाउँपालीकाको सम्बृद्धीका लागि एकतावद्ध भई हातेमालो गरेर अघि बढ्ने तथा निर्वाचनको वातावरण बनाउने प्रतिवद्धता जनाएका छन् ।

सहमतीपछि चैत २९ गते मुनामा औपचारीक कार्यक्रम गरेर गाउँपालीकाको केन्द्र उद्घाटन गर्ने तयारी भएको कार्यकारी अधिकृत कृष्णप्रसाद गौतमले बताउनुभयो । साविकका गुर्जा, लुलाङ, मुदी, मुना, ताकम, मराङ र मल्कवाङ गाविस समावेश भएको धौलागिरी गाउँपालीका पर्यटन, कृषि, जलविद्युत, पशुपालन र जडिवुटीमा प्रचुर सम्भावना छ ।