स्थानीय तहमा बैङ्कीङ पहुँच विस्तार अनिवार्य :डेपुटी गभर्नर श्रेष्ठ

  • २५ चैत्र २०७३, शुक्रबार
  • 2087 पटक पढिएको

म्याग्दी, २५ चैत । नेपाल राष्ट्र बैँकका डेपुटी गभर्नर शिबराज श्रेष्ठले हरेक स्थानीय तहमा बैँकको शाखा अनिवार्य रुपमा पुग्ने बताउनुभएको छ । सरकारले स्थानीय तह पुर्नसंरचना गरेपछि ग्रामिण भेगमै सरकारी सेवा सुविधा पुग्ने भएकाले राष्ट्र बैँकले समेत हरेक स्थानीय तहमा कम्तीमा एउटा बैँकको शाखा अनिबार्य पु¥याउने गरि गृहकार्य अगाडी बढाएको उहाँले बताउनुभयो ।


म्याग्दी उद्योग बाणिज्य संघले शुक्रवार बेनीमा आयोजना गरेको नेपाल राष्ट्र बैँक, बैँक तथा विक्तिय संस्था र सेवाग्राहीबिच अन्र्तक्रिया कार्यक्रममा बोल्दै डेपुटी गभर्नर श्रेष्ठले सरकारी कारोवारका लागि पनि हरेक गाउँपालिका र नगरपालिकामा बैँकको शाखा आबश्यक रहेको बताउनुभयो । उहाँले विभिन्न बैँकहरुलाई सरकारी कारोबारका लागि अनुमती दिईएको उल्लेख गर्दै स्थानीय तहलाई मध्यनजर गरि आगामी मौद्धिक निती बनाउने तयारी गरेको बताउनुभयो । 
डेपुटी गभर्नर श्रेष्ठले बैँकहरुले उत्पादनशिल क्षेत्रमा कुल लगानीको २० प्रतिशत लगानी गर्नुपर्ने बताउँदै त्यसको कार्यान्वयनको लागि राष्ट्र बैँकले निगरानी समेत बढाएको बताउनुभयो । ‘‘ साउन देखि पुस मसान्तसम्मको कर्जा प्रवाह उत्पादनशिल क्षेत्रमा भन्दा अनुत्पादक क्षेत्रमा बढी देखिएको छ, त्यसैले कृषि, उर्जा , पर्यटन लगायतको क्षेत्रमा लगानी बढाउन हामीले पनि ताकेता गरेका छौँ,’’–उहाँले भन्नुभयो ।
उहाँले हरेक बाणिज्य बैँकहरुले कुल कर्जाको पाँच प्रतिशत विपन्न बर्गको लागि लगानी गर्नुपर्ने बताउँदै सस्तो व्याजदर हुने यस्तो कर्जाले विपन्न बर्गका व्यक्तिहरुको आर्थिक अबस्था सुधारमा सहयोग पुग्ने धारणा राख्नुभयो । डेपुटी गभर्नर श्रेष्ठले बैँकहरुसंग कर्जा प्रवाहको लागि सुस्तता आएको भएपनि तरलता भने नआएको दावि गर्नुभयो ।
उहाँले राष्ट्र बैँकले हरेक बैँकले आफ्नो आम्दानीको १ प्रतिशत रकम शिक्षा, स्वास्थ्य, परोपकारी क्षेत्र लगायतको सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने निती ल्याएको बताउँदै जिल्लामा रहेका विभिन्न बैँकका शाखाहरु मार्फत सो रकमको सदुपयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा गरिमा विकास बैँकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकाल र प्रभु बैँकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले म्याग्दीमा मझौला उद्योग संगै कृषि, जलविद्यूत र पर्यटन क्षेत्र सम्भावनायुक्त भएकाले त्यस क्षेत्रमा लगानी गर्दा जिल्लाकै आर्थिक विकासमा टेवा पुग्ने धारणा राख्नुभयो ।
कार्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघका बरिष्ट उपाध्यक्ष उत्तम कर्माचार्य, द्धितिय उपाध्यक्ष सुविन श्रेष्ठ, पुर्व अध्यक्ष सुदर्शनकुमार श्रेष्ठ, व्यवसायि सुरत केसी लगायतले बैँकहरुले आफ्नो सेवालाई सरल र सहज बनाउनुको साथै ग्राहकहरुलाई आफ्नो सेवा र सुविधाबारे जानकारी गराउनुपर्नेमा जोड दिनुभयो । संघका बरिष्ट उपाध्यक्ष कर्माचार्यको स्वागत र द्धितृय उपाध्यक्ष श्रेष्ठको समापनमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिब लिलाराम गौतमले गर्नुभएको थियो ।