दृष्टीविहिन विद्यार्थीका लागि कम्प्युटर सहयोग
- ११ मंसिर २०७५, मंगलवार
- सन्तोष गौतम
- 2135 पटक पढिएको
मौवाफाँट, ११ मङसिर । म्याग्दीको रघुगंगा गाउँपालिका ३ मौवाफाँट स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टीविहिन स्रोत कक्षाका विद्यार्थीहरुलाई कम्प्युटर सहयोग प्राप्त भएको छ ।
अन्नपूर्ण गाउँपालिका ६ खिवाङ घर भई हाल पोखरा बस्नुहुने लक्ष्मी पुनको पहलमा बेल्जियमको डिस्याबिलीटी इन्टरनेशनल सोलीडारीटी फाउण्डेशनले दृष्टीबिहीन विद्यार्थीहरुले प्रयोग गर्न मिल्ने ४ थान कम्प्युटर सहयोग प्राप्त भएको हो ।
पुनले जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, रघुगंगा गाउँपालिकाका उपाध्यक्ष कमला तिलीजा र राष्ट्रीय अपाङ्ग महासंघको गण्डकी प्रदेश अध्यक्ष खोमराज सुवेदीको उपस्थितीमा भएको कार्यक्रममा विद्यालयका प्रअ निलकण्ठ सुवेदी, विद्यालय व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष गोविन्द रिजाल र स्रोत शिक्षक गणेश सुवेदीलाई कम्प्युटर उपलब्ध गराएका थिए ।
उक्त कम्प्युटरमा जडान भएको आवाज आउने सफ्टवयरको साहराले आँखा नदेख्नेहरुले पनि प्रयोग गर्न सक्ने सुबिधा उपलब्ध छ । स्रोत कक्षामा हाल १२ जना दृष्टीविहीन बालबालिकाहरु अध्ययनरत छन् । दृष्टीविहिन बालबालिकाहरुको आधुनिक शिक्षामा पहुँच बढाउन बिदेशमा रहेका साथिहरुसँग समन्वय गरेर एक लाख रुपैयाँ बराबरको कम्प्युटर उपलब्ध गराएको पुनले बताए ।
विद्यालय ब्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष रिजालको अध्यक्षता, शिक्षक गिता सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा राष्ट्रीय अपाङ्ग महासंघको गण्डकी प्रदेश अध्यक्ष खोमराज सुवेदीले नियमित प्रयोग गरेर दृष्टीविहीन विद्यार्थीको आधुनिक सूचना प्रबिधिमा पहुँच वृद्धी गराउन सुझाव दिएका थिए ।