जिफन्टले बुझायो एमालेलाई ज्ञापनपत्र

  • २४ चैत्र २०७३, बिहीबार
  • 1943 पटक पढिएको

म्याग्दी, २४ चैत । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) म्याग्दीले बिहीबार नेकपा एमाले जिल्ला कमिटी म्याग्दीलाई ज्ञापनपत्र बुझाएको छ । आउँदै गरेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी ज्ञापनपत्र बुझाइएको जिफन्टले जनाएको छ । जिफन्ट म्याग्दीका अध्यक्ष बलादेवी राई र सल्लाहकार गोपाल रिजालले संयुक्त रुपमा हस्ताक्षर गरेको ज्ञापनपत्र एमालेका वैकल्पिक केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापालाई बुझाइएको थियो ।

ज्ञापनपत्रमार्फत अघिल्लो संविधानसभाको निर्वाचनमा एमालेको चुनाबी घोषणापत्रमा उल्लेखित श्रमिकलाई राज्यका हरेक क्षेत्रमा १० प्रतिशत प्रतिनिधित्व गराउने प्रतिबद्धताअनुसार त्यसलाई कार्यान्वयन गर्न ध्यानाकर्षण गराइएको छ ।
ज्ञापनपत्रमा नजिकिँदै गरेको स्थानीय तहको निर्वाचनमा सबै तहका पदमा मजदुरको पक्षमा १० प्रतिशत नघटाई सोभन्दा बढी प्रतिनिधित्व सुनिश्चित गरियोस् भन्ने उल्लेख गरिएको छ । ज्ञापनपत्र बुझ्दै केन्द्रीय सदस्य थापाले मजदुरका माग जायज रहेकाले एमालेले सबै क्षेत्रमा समान तरिकाले प्रतिनिधित्व गराउने प्रतिबद्धता जनाएका थिए ।