अन्नपूर्ण गाउँपालीकालाई नमुना बनाउने प्रतीवद्धता

  • २४ चैत्र २०७३, बिहीबार
  • सन्तोष गौतम
  • 3940 पटक पढिएको

बेनी २४ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालीकालाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्न सकिने सरोकारवालाले बताएका छन् ।गाउँपालीका कार्यालयले बिहीबार पोखरेबगरमा नव वर्ष २०७४ को अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा परिचयात्मक कार्यक्रममा सहभागि राजनितिक दलका नेता तथा अगुवाहरुले अन्नपूर्ण गाउँपालीका प्राकृतिक स्रोत साधनका हिसावले सक्षम रहेको बिचार व्यक्त गरेका हुन् ।

अन्नपूर्ण हिमाल, संसारकै गहिरो अन्धगल्छी, प्राकृतिक तातोपानी कुण्ड, घोडेपानी, पुनहिल, मोहरेडाँडा, खोप्रा, टिकोट, कर्बाकेली, नांगी, खयर बराही, नांगी बाराही, रुप्से झरना लगायत पर्यटकीय स्थल रहेको यस क्षेत्रमा आलु खेती र भेडापालनको पकेट क्षेत्र, दर्जनौ जलविद्युत आयोजना निर्माण गर्न सकिने सम्भावना रहेको छ ।

शिख, घार, दोवा, राम्चे, हिस्तान, भुरुङ तातोपानी, दाना र नारच्याङ का राजनितिकर्मी, विभिन्न संघ संस्थाका प्रतिनिधि र अगुवाहरुले अन्नपूर्ण गाउँपालीकालाई सम्बृद्ध र नमुना बनाउन हातेमालो गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

गाउँपालीकाका कार्यकारी अधिकृत अच्युत दाहालको अध्यक्षता, वडा सचिव बाबुराम शर्माको स्वागत र कुलप्रसाद आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका कृष्णप्रसाद बरुवाल, एमालेका खड्ग गिरी र माओवादी केन्द्रका बागबिर पाईजाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

सन्तोष गौतम