बेनीमा निकासी योग्य बस्तुको सम्भाव्यता अध्ययन

  • २४ चैत्र २०७३, बिहीबार
  • सन्तोष गौतम
  • 2556 पटक पढिएको

म्याग्दी, २४ चैत । वाणिज्य मन्त्रालयले म्याग्दीमा निकासीयोग्य बस्तुको सम्भाव्यता अध्ययन सुरु गरेको छ । मन्त्रालय अन्तरगतको ब्यापार तथा निकासी प्रर्वद्धन केन्द्रले म्याग्दीबाट निकासीको सम्भावना रहेका बस्तुहरुको तथ्याङ्क संकलन र उत्पादनको अवस्थाको विषयमा सम्भाव्यता अध्ययन सुरु गरेको हो । म्याग्दीका साथै मुस्ताङ र पर्वतबाट देशका अन्य जिल्ला र बिदेशमा निकासी गर्न सकिने कृषि उपज, फलफुल, तरकारी, जडीवुटी र पशुजन्य बस्तुहरुको विषयमा अध्ययन सुरु गरेको केन्द्रका बरिष्ठ अधिकृत गोविन्द आचार्यले जानकारी दिनुभयो ।   

पहिलो चरणमा केन्द्रका सदस्य दिपेन्द्र श्रेष्ठ, बरिष्ठ अधिकृत आचार्य र कृष्णराज बजगाईको टोलीले बिहीबार बेनीमा म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा सरोकारवालासंग अन्तरक्रियाका साथै बिषयगत कार्यालयहरुबाट तथ्याङ्कन संकलन गरेको छ ।     सम्भाव्यता अध्ययन गरेर तयार पारिने प्रतिवेदनको आधारमा मन्त्रालयले यस क्षेत्रमा निकासी योग्य बस्तुको उत्पादन बृद्धी र बजारीकरणसंग सम्बन्धित योजना तथा कार्यक्रम सञ्चालन गर्ने अधिकृत आचार्यले बताउनुभयो ।

अन्तरक्रियामा सहभागि कृषक, उद्यमी र सरकारी अधिकारीहरुले म्याग्दीबाट सुन्तला, आलु, जडिवुटी, सिमी, टिम्मुर, अर्गानीक तरकारी, अल्लोका कपडा, नेपाली कागज, भेडाबाख्रा र उन निकासीको सम्भावना रहेको जानकारी गराएका थिए । बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजाल, संघका पुर्व अध्यक्ष सुर्दशन श्रेष्ठ, कृषी उद्यमी पूर्ण पुन, सागर बानिया लगायतले निकासीयोग्य बस्तुको प्रर्वद्धनका लागि ठूलो परिमामाण उत्पादन, संकलन तथा प्रसोधन केन्द्र, सहज ढुवानी र बजारीकरणको आवश्यकता रहेको बताउनुभयो ।     संघका बरिष्ठ उपाध्यक्ष उत्तम कर्माचार्यको अध्यक्षता र सचिव लिलाराम गौतमले सञ्चालन गर्नुभएको कार्यक्रम दितृय उपाध्यक्ष सुबिन श्रेष्ठले समापन गर्नुभएको थियो ।

सन्तोष गौतम