फुलमायाको उपचारका लागि बेलायतबाट एक लाख पन्ध्र हजार रुपैया सहयोग

  • २४ चैत्र २०७३, बिहीबार
  • 1735 पटक पढिएको

म्याग्दी, २४ चैत । रक्तक्यान्सरबाट पिडित म्याग्दीको धौलागिरी गाउँपालीका ७ ताकमकी फुलमाया भण्डारीको उपचारका लागि बेलायतबाट एक लाख पन्ध्र हजार रुपैया सहयोग प्राप्त भएको छ ।    साविक ताकम गाविस ४ की ३३ वर्षिया भण्डारीको उपचारका लागि ताकम धारापानी घर भई हाल बेलायतमा रहनुभएका मोना युकेका पुर्व अध्यक्ष उमेश रानाको पहलमा संकलीत सो रकम बिहीबार ओमकुमारी शान्ति कोषले बेनीमा आयोजना गरेको कार्यक्रममा मोना युकेका सल्लाहकार दुर्गाबहादुर राम्जालीले हस्तान्तरण गर्नुभयो ।

परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि शान्ति कोषले फुलमाया बचाउ अभियान सञ्चालन गरेको छ । अभियानमा देश बिदेशमा रहेका म्याग्देलीहरुबाट सहयोग प्राप्त हुने क्रम जारी छ ।

भरतपुर स्थित विपी कोईराला मेमोरीयल क्यान्सर अस्पतालमा उपचार गराईरहेकी भण्डारीको स्वास्थ्यमा सुधार आएको आफन्तहरुले बताएका छन् । रोजगारीको शिलशिलामा एक वर्षअघि कतार गएका फुलमायाका श्रीमान रोशन स्वदेश फर्कीएर श्रीमतीको उपचारमा जुटेका छन् । खेती किसानी गरेर जिविकोपार्जन गर्दै आएका भण्डारी दम्पत्तीका दुई छोरा र दुई छोरी छन् । उनको उपचारका लागि पन्ध्र लाख रुपैया खर्च हुने अस्पतालले जनाएको छ ।

कोषका उपाध्यक्ष हरिकृष्ण गौतमको अध्यक्षता र सचिव लोकेश पुन मगरको सञ्चालनमा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रममा मोना युकेका पुर्व अध्यक्ष समेत रहनुभएका राम्जालीले कोषको डेढ करोड रुपैयाको अक्षयकोष अभियानका लागि व्यक्तिगत रुपमा एक लाख रुपैया सहयोग गर्ने घोषणा गर्नुभयो ।