स्थानीयको सक्रियतामा पुनर्निर्मित कोतमन्दिरको उद्घाटन

  • २३ चैत्र २०७३, बुधबार
  • 1809 पटक पढिएको

म्याग्दी,२३ चैत। म्याग्दीको बेनी नगरपालिका–५ चिप्लेटीमा स्थानीयवासीको सक्रियतामा नहरानिशान कोतमन्दिरको पुनर्निर्माण भएको छ । चिप्लेटीवासी, स्थानीय संघसंस्था र व्यक्तिको आर्थिक तथा जनश्रमदानमा निर्मित कोतमन्दिरको मङ्गलबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।


सामुदायिक वनसहित विभिन्न ७१ जना चन्दादाताको १० लाख रुपैयाँभन्दा बढीको लागतमा मन्दिरको पुनर्निर्माण गरिएको हो । मन्दिर पुनर्निर्माणका लागि भाङ्ले पाखा सामुदायिक वन उपभोक्ता समूहबाट २ लाख ५९ हजार ६ सय २० र चन्दादाताहरुमध्ये सबैभन्दा धेरै हेमबहादुर खत्रीले २ लाख ६७ हजार नौसय रुपैयाँ सहयोग गरेको कोतमन्दिर पुनर्निर्माण समितिले जनाएको छ । कार्यक्रमको अवसरमा मन्दिरमा मुर्तिको प्राणप्रतिष्ठा गर्नुका साथै मन्दिर निर्माणमा विशेष योगदान पु¥याएकालाई सम्मान गरिएको थियो ।


मन्दिरको उद्घाटन गर्दै बेनी नगरपालिका कार्यालयका इन्जिनियर बिमलरञ्जन कार्कीले स्थानीयवासीको सक्रियतामा निर्मित कोतमन्दिर नमुनायोग्य रहेको बताए । उनले स्थानीय मठमन्दिर धार्मिक संस्थाका रुपमा रहेकाले यसको दिगो संरक्षण गर्नुपर्ने भन्दै नगरपालिकाबाट कोतमन्दिरमा निर्माणकार्य गर्न तत्काल २० हजार रुपैयाँ बजेट छुट्याइएको जानकारी दिए ।
सोही कार्यक्रममा साविक पुलाचौर गाविसका पूर्वउपाध्यक्ष भोजबहादुर कार्कीले मन्दिर संरक्षण गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताउँदै आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा बेनपा–५ पुलाचौरका वडा सचिव कृष्णबहादुर बानियाँ, पौलस्त्य पुलहाश्रम क्षेत्र विकास कोषका सचिव माधवप्रसाद रेग्मी र पत्रकार शिव बानियाँले धार्मिक क्षेत्रको संरक्षण तथा प्रवद्र्धन गर्नका लागि आवश्यक प्रचारप्रसार र विकास गर्नुपर्नेमा जोड दिएका थिए ।
मन्दिरको इतिहास र वर्तमान अवस्था तथा निर्माणका विषयमा समितिका सचिव गणेशबहादुर कार्की र संयोजक हेमबहादुर खत्रीले प्रकाश पारेका थिए । मन्दिर निर्माण समितिका कार्यवाहक अध्यक्ष ईन्द्रबहादुर कार्कीको अध्यक्षता, शेरबहादुर बानियाँको स्वागत र पत्रकार प्रताप बानियाँको सञ्चालनमा सम्पन्न कार्यक्रममा परिवर्तन आमा समूहका सचिव विष्णुमाया कुँवरले मन्तव्य राखेकी थिइन् ।
नेपालीहरुको दोस्रो दशैं चैत्राष्टमी पर्वको अवसरमा आयोजित उद्घाटन कार्यक्रमपश्चात् मन्दिरमा पुजाआजा समेत गरिएको थियो । नौमती पञ्चेबाजासहित उद्घाटन गरिएको उक्त कार्यक्रममा आमा समूह, स्थानीयलगायतको सहभागीता रहेको थियो ।