रघुगंगा गाउँपालिको समस्या समाधानमा प्रधानमन्त्री प्रचण्ड सकारात्मक

  • २१ चैत्र २०७३, सोमबार
  • 4081 पटक पढिएको

म्याग्दी, २१ चैत । गाउँपालिकाको केन्द्र विवादले कार्यान्वयनमा आउन नसकेको रघुगंगा गाउँपालिकाको समस्या समाधानको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकारात्मक देखिएका छन् । भौगोलिक विकटताको कारण रघुगंगा गाउँपालिकामा समावेश गाविसहरुलाई दुई वटा गाउँपालिका बनाएर विवाद समाधान गर्न माग गर्दै पुगेको टोलि समक्ष प्रधानमन्त्री प्रचण्डले गाउँपालिकाको समस्याप्रति आफु गम्भिर रहेको भन्दै समाधानको लागि सक्दो प्रयास गर्ने भन्दै आश्वासन दिनुभएको हो ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको  कार्यालयमा  भएको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले रघुगंगा गाउँपालिकामा देखिएका बास्तविक समस्या समाधानको लागि आफुले मन्त्रीपरिषद बैठकमा प्रस्ताब लैजाने प्रतिबद्धता जनाउनुभयो । ‘‘ रघुगंगा गाउँपालिकाको समस्याप्रति सरकारको ध्यानकर्षण भएको छ, पहिले जिल्ला तहबाट आयोगमा वैज्ञानिक तवरले सिफारिस नगर्दा समस्या आएको रहेछ, अब सरकारले तपाईहरुको समस्या समाधान गर्छ, तपाईहरु निर्वाजनमा जुट्नुस,’’– प्रधानमन्त्री प्रचण्डको भनाई उदृत गर्दै टोलिमा सहभागि माओवादी केन्द्रका नेता हरि भण्डारीले भन्नुभयो ।


रघुगंगा गाउँपालिकाको समस्याबारे सरकारी पक्षको ध्यानकर्षण गराउन गएको डेलिगेसन टोलिमा टोलिमा माओवादी केन्द्रका जिल्ला इन्चार्ज मानबहादुर बुढा, माओवादी केन्द्रका विनोद केसी, रिम केसी, हरि भण्डारी, सुवास विश्वकर्मा, नेकपा एमालेका बालकृष्ण सुवेदी, नेपाली काँग्रेसका शिब केसी, भबबहादुर भण्डारी लगायतको सहभागिता रहेको थियो ।सो टोलिले सोमबार नै एमाले अध्यक्ष केपि ओली लगायतका नेताहरुलाई समेत भेट गरेको थियो भने मंगलवार काँग्रेस सभापती शेरबहादुर देउवा लगायतका नेताहरुलाई भेट गरि गाउँपालिकाको समस्याबारे ध्यानकर्षण गराउने तयारी भईरहेको छ ।


रघुगंगा गाउँपालिकाको समस्याबारे प्रधानमन्त्रीका राजनितीक सल्लाहकार चक्रपाणी खनाल (बलदेव)ले गत चैत ७ गते स्थलगत निरीक्षण समेत गरिसकेकाले सरकार रघुगंगा गाउँपालिकाको समस्या समाधानमा सकारात्मक देखिएको टोलिमा सहभागि विनोद केसीले बताउनुभयो । सरकारले मधेसकेन्द्रित दलहरुको माग सम्बोधनको क्रममा तराईमा केही स्थानीय तह थप गर्न सक्ने भएकाले सो क्रममा रघुगंगा गाउँपालिकामा समावेश गाविसहरुलाई समेत दुई वटा गाउँपालिकामा समावेश गरि समस्यालाई हल गर्ने कसरत भईरहेको छ ।

रघुगंगा गाउँपालिकाको केन्द्र राजपत्रमा पाखापानी तोकिएपछि त्यस क्षेत्रका बहुसख्यक नागरिकलाई अपायक पर्ने भएपछि पिप्ले, भगवती, बेगखोला लगायतका क्षेत्रका बासिन्दाहरुले निर्वाचन बहिस्कार अभियान नै चलाएका छन् । गाउँपालिकाको केन्द्रबारे समस्या समाधान नभएसम्म त्यस क्षेत्रमा निर्वाचन गर्न नदिने भन्दै आन्दोलन थालेपछि अहिलेसम्म यस गाउँपालिका कार्यान्वयनमा आउन समेत सकेको छैन् ।