म्याग्दीमा निर्वाचनको तयारी तीब्र,म्यादी प्रहरीमा करिब एक हजारको आवेदन

  • १८ चैत्र २०७३, शुक्रबार
  • 1775 पटक पढिएको

म्याग्दी, १८ चैत । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचनको तयारीलाई तीब्र बनाएको छ । ७२ वटा मतदान केन्द्र निर्धारण गरेको कार्यालयले जनशक्ति व्यवस्थापन, सुरक्षा रणनीति सम्बन्धि अन्तरक्रिया र मतदाता शिक्षालाई तीब्र बनाउन थालेको हो । एक नगरपालिका र पाँच गाउँपालिकामा करिब ७२ हजार मतदाताले निर्वाचनमा भाग लिन पाउनेछन् । सोही अनुसार आन्तरिक तयारीलाई तीब्र पारिएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार, निर्वाचन प्रक्रिया मार्फत छ स्थानीय तहमा २ सय ३७ प्रतिनिधी चुनिनेछन् । हरेक नगर तथा गाउँपालिकामा कायम भएको वडामा वडाअध्यक्ष सहित पाँच जना प्रतिनिधी चुनिनेछन् । त्यसमा एक जना महिला र दलित महिलाको अनिवार्य हुनेछन् भने दुईजना खुल्लाबाट दुईजना चुनिने भएका छन् । नगरपालिका तथा गाउपालिकाको प्रमुख तथा उपप्रमुखपनि संगै चुनिएर आउनेछन् । यसपटक एकजना मतदाताले सात जना प्रतिनिधी चुन्ने अधिकार पाउनेछन् । ‘नगरपालिका र गाउपालिकाको प्रमुख र उपप्रमुख सहित वडाका ५ सदस्यीय गाउँसभाको टुगो यहि निर्वाचनबाट हुन्छ’, निर्वाचन अधिकारी पौडेलले भन्नुभयो, ‘यसरी २ सय ३७ प्रत्यक्ष र १३ जना अप्रत्यक्ष प्रक्रियाबाट चुनिएर आउनेछन् ।’

निर्वाचन कार्यालयले सुरक्षाको तयारी सम्पूर्ण तयारी भने जिल्ला सुरक्षा समितिले गर्ने जनाएको छ । ७२ मतदाता केन्द्र भएपनि मतदानस्थल भने १ सय ७ को हाराहारीमा पुग्नेछ । १ हजार भन्दा बढी मतदाता भएका ठाउँमा मतदानस्थल बनाउन सकिने प्रावधान अनुसार स्थल थपिदै जाँदा उक्त सँख्यामा पुग्ने कार्यालयले अनुमान गरेको छ । एक मतदानस्थलमा सुरक्षाकर्मी बाहेक मतदान अधिकृत, सहायक मतदान अधिकृत सहित ७ जना कर्मचारी खटिनेछन् । यसैबीच, निर्वाचनमा सुरक्षा प्रायोजनका लागि आब्हान गरिएको म्यादी प्रहरीमा भने युवाको विशेष आकर्षण देखिएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट करिब एक हजार जनाले दरखास्त दिएका छन् । म्यादी प्रहरीको लागि ९९४ जनाले आवेदन दिएकाहरुलाई लिखित, मौखिक र शारिरीक परिक्षणको आधारमा छनौट गरिने जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख दिवाकर घिमिरे जानकारी दिनुभयो ।