जिल्ला अदालत जाँदै हुनुहुन्छ ? परिचय पत्र अनिवार्य बोक्नुस !

  • १७ चैत्र २०७३, बिहीबार
  • 3025 पटक पढिएको

म्याग्दी, १७ चैत । के काम बिशेषले यहाँ जिल्ला अदालत म्याग्दी आउँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अनिबार्य रुपमा परिचय खुल्ने कागजात लैजानुहोला । यदि तपाईले आफ्नो परिचय खुल्ने कुनैपनि कागजपत्र बोक्नुभएको छैन भने तपाईलाई जिल्ला अदालत प्रवेश गर्न सुरक्षाकर्मीले रोक्नेछन् । जिल्ला अदालत म्याग्दीले अनाबश्यक मानिसहरु अदालत परिसरमा बस्ने र त्यसले अदालतको शान्ति सुरक्षा संगै नियमित कामबारबाहिमा समेत असर पु¥याउन थालेपछि प्रवेशद्धारबाट कार्यालयमा आउनेहरुलाई अनिबार्य रुपमा पहिचान खुल्ने कागजात जाँच गर्न थालेको हो ।


कार्यालयमा प्रवेश गर्ने नागरिक देखि जुनसुकै कार्यालयका कर्मचारीहरुले समेत अनिबार्य रुपमा पहिचान खुल्ने कागजात देखाउनुपर्नेछ । जिल्ला अदालतको सुरक्षार्थ १० जना प्रहरीको स्विकृत दरबन्दि रहेपनि बुधवारदेखि ४ जना प्रहरी टोलि खटाएर अनाबश्यक मानिसहरु अदालतमा प्रवेश गर्ने कार्यलाई रोक्न सो व्यवस्था गरिएको जिल्ला न्यायाधीस रामप्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार, अदालत परिसरमा रहेको क्यान्टीनमा अनाबश्यक रुपमा मानिसहरु आउने गर्न थालेपछि सो क्यान्टीन समेत बन्द गरिएको छ । ‘‘ वास्तवमा जिल्ला अदालतको परिसर चौतारी जस्तै थियो, जतिबेला पनि जुनसुकै व्यक्ति पनि छिर्ने, क्यान्टिनमा गफगाफ गर्ने प्रवृत्ति थियो, त्यस्तो कार्यलाई हटाएर कामबिशेषका व्यक्तिहरुलाई मात्रै अदालत परिसरमा अनुमती दिने कार्यका लागि यो व्यवस्था गरिएको हो,’’–न्यायाधीस शर्माले भन्नुभयोे ।
उहाँले कार्यालयमा कामबिशेषका व्यक्तिहरु मात्रै जाने प्रचलनले कार्यालयको कार्यसम्पादन समेत व्यवस्थित हुने धारणा राख्नुभयो । जिल्ला अदालतको अग्रभागमा पहिले क्यान्टीन रहेको स्थानमा तत्कालको लागि प्रहरीलाई बस्ने व्यवस्था मिलाईएको र निकट भविश्यमा नै अदालतको भवन नजीकै अर्को भवन निर्माण गरि कार्यालयको लागि स्विकृत भएका प्रहरी टोलि बस्ने व्यवस्था मिलाईने जिल्ला अदालतका श्रेस्तेदार राजु ढुंगानाले जानकारी दिनुभयो । उहाँका अनुसार, स्टिमेट गरि भवन निर्माण सुरु भईसकेकाले आगामी असार भित्र नै प्रहरी टोलि बस्ने भवन निर्माण भईसकनेछ ।
भवन निर्माण भएपछि हाल प्रहरी बस्ने व्यवस्था मिलाईएको पहिले क्यान्टीन सञ्चालन भएको ठाउँलाई प्रतिक्षालयको रुपमा विकास गरिने जिल्ला अदालतले जनाएको छ । यसैबिच जिल्ला अदालत म्याग्दीले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा लक्ष्य भन्दा बढी मुद्दा फैसला गरेको छ । अघिल्लो वर्षको जिम्मेवारी सरेर आएका ६८ वटा सहित २५४ वटा मुद्दा दर्ता भएकोमा १७३ वटा फैसला भएको हो । अदालतले बिहीबार आयोजना गरेको पत्रकार घेटघाट कार्यक्रममा श्रेष्तेदार ढुंगानाले १६४ वटा मुद्दा फस्यौट गर्ने लक्ष्य रहेकोमा दश वटा बढी फैसला भएको जानकारी दिनुभयो । गत साउनदेखि फागुन मसान्तसम्म १८६ वटा नयाँ मुद्दा दर्ता भएका अदालतबाट ८१ वटाको फैसला हुन बाँकी छ । २० वटा मुद्दाको निरन्तर सुनुवाई गरीएकोमा ९ वटाको फैसला भएको छ । एउटा नकवजनी चोरीको मुद्दा ३ दिनमै फैसला भएको छ । अदालतले गरेका फैसला कार्यान्वयनमा समेत तिब्रता पाएको छ ।