निशुल्क पाठेघर उपचार शिविर सुरु

  • १७ चैत्र २०७३, बिहीबार
  • 1881 पटक पढिएको

म्याग्दी, १७ चैत । म्याग्दी सदरमुकाम बेनीमा बिहीबारदेखि साताव्यापी पाठेघर (आंङ) खस्ने रोगको निशुल्क उपचार शिविर सुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय पोखरा र जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीको आयोजना तथा देवदह मेडिकल कलेज शिक्षण अस्पताल रुपन्देहीको प्राविधिक सहयोगमा सुरु भएको शिविरको अस्पताल विकास समितिका अध्यक्ष माधब प्रसाद रेग्मीले विरामीलाई कार्ड प्रदान गरि उद्घाटन गरेका थिए ।

चैत्र २३ गते सम्म चल्ने शिविरमा देवदह कलेज शिक्षण अस्पतालका विशेषज्ञ डाक्टरका साथमा जिल्ला अस्पताल बेनीका डाक्टरहरुले विरामीको स्वास्थ्य उपचार गर्ने बताईएको छ । अस्पतालका प्रमुख डाक्टर रोशन न्यौपानले म्याग्दी र आसपासका महिलाहरुलाई लक्षित गर्दै हरेक बर्ष शिविर सञ्चालन गरिदै आएको जानकारी दिए । गतबर्ष पनि आयोजना गरिएको शिविरमा ५२ जनाको शल्यक्रिया गरिएको भन्दै यसबर्षपनि सोहीकै हाराहारीमा शल्यक्रिया हुनसक्ने उनले बताए ।

‘जटिल अवस्थाका समस्यालाई मात्र शल्यक्रिया गर्छौ, सामान्य परिक्षण गर्ने सँख्या त धेरै नै हुन्छ’, उनले भने । गर्भवति र सुत्केरी अवस्थामा स्वास्थ्यमा ध्यान नदिँदा महिलाहरुमा आङ खस्ने समस्या बढ्दै गएको छ । स्वास्थ्यकर्मीहरुले गर्भवति अवस्थामा अप्ठ्यारो काम नगर्न र सुत्केरी भएको ३ महिनासम्म आराम गर्न महिलाहरुलाई सुझाब दिने गरेका छन् । शिविरको पहिला दिने २० भन्दा बढीले सेवा लिएको बताईएको छ ।