नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्गमा पूर्वाधार निर्माण हुँदै

  • १७ चैत्र २०७३, बिहीबार
  • 3487 पटक पढिएको

म्याग्दी, १७ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्ने नेपालको नवौँ (८ हजार ९१ मिटर ) अग्लो अन्नपूर्ण हिमालको प्रथम आधार शिविर पुग्ने नयाँ पदमार्गमा पूर्वाधार निर्माणले तिब्रता पाएको छ  । चार बर्षको अबधिमा गत बर्षसम्म नारच्याङदेखि अन्नपूर्ण प्रथम आधार शिविर सम्म सामान्य पदमार्गको ट्याक निर्माण भएको पदमार्गमा यो बर्षदेखि थप पर्यटन पूर्वाधार निर्माण गर्न थालिएको हो ।


संस्कृति, पर्यटन तथा उडड्यन मन्त्रालय अन्र्तगत पर्यटन विभागको रु ४० लाखको लगानीमा नारच्याङ–अन्नपूर्ण पदमार्ग गत बर्षदेखि नै सञ्चालनमा ल्याईएको र यो बर्षदेखि झोलुङ्गे पुल, पदमार्गको विस्तार जस्ता पूर्वाधार निर्माण गर्न थालिएको पदमार्ग निर्माण समितिका अध्यक्ष तेज गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो बर्ष नारच्याङमा रु २० लाखको पर्यटन पूर्वाधार निर्माण हुँदै छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण आयोजना (एक्याप)ले नारच्याङ– अन्नपूर्ण पदमार्गको लागि रु १० लाख बजेट विनियोजन गरेको छ । त्यसको साथै एक्यापले नारच्याङदेखि खोप्रा ट्रेकको लागि रु दुई लाख र लेकगाउँमा पर्यटन घर निर्माणको लागि दुई लाख २५ हजार विनियोजन गरेको छ ।


अन्नपूर्ण पदमार्ग निर्माण समितिका अध्यक्ष गुरुङका अनुसार, पर्यटन बोर्डले जिल्ला समन्वय समिति मार्फत निलगिरी देखि अन्नपूर्ण आधार शिविर सम्मको पदमार्ग स्तरोन्नतीको लागि रु ६ लाख बजेट विनियोजन गरेको छ । सो बजेटबाट अप्ठ्यारो ठाउँमा पदमार्ग विस्तार गरिने समितिले जनाएको छ ।
एक्यापले विनियोजन गरेको रु १० लाख बजेटलाई भने पदमार्ग अन्र्तगत निलगिरी खोलामा झोलुङ्गे पुन निर्माणमा परिचालन गरिने तयारी भईरहेको अध्यक्ष गुरुङले बताउनुभयो  । नारच्याङ गाउँदेखि छेलुङ जँगल हुदै नीलगिरि खोलाको किनारै किनार पहिचान गरि पूर्वाधार निर्माण भईरहेको यो पदमार्गबाट दुई दिनमै पर्यटकहरु अन्नपूर्ण प्रथम आधार शिविर पुग्ने सक्नेछन् ।

नेपाली पर्यटकलाई एक दिन र विदेशी पर्यटकलाई दुई दिन लाग्ने यो पदमार्ग हुँदै आधार शिविर पुग्ने पर्यटकहरुलाई व्यवस्थित र सुरक्षित वसोबासको लागि सेल्टर सहित क्याम्पीङ साईट लगायतका थप पूर्वाधार निर्माण गर्नुपर्ने देखिएको छ ।
सहज पदमार्ग नहुँदा यसअघि आरोही र पर्यटकहरु  हेलिकप्टर चार्टर र मुस्ताङको कुञ्जो गाविस हुदै घुमाउरो बाटो हुँदै आधार शिविर पुग्ने गरेका थिए । पदमार्ग सञ्चालनमा आएसंगै अन्नपूर्ण गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने पदमार्ग निर्माण उपभोक्ता समितिका सचिब हुमबहादुर पुनले बताउनुभयो  ।