रघुगंगा गाउँपालिकाको केन्द्र विवादले निर्वाचन नहुने खतरा, दुई वटा गाउँपालिका बनाउन माग

  • १६ चैत्र २०७३, बुधबार
  • 4645 पटक पढिएको

म्याग्दी, १६ चैत । म्याग्दीको रघुगंगा भेगका विभिन्न ८ गाविसलाई समावेश गरिएको रघुगंगा गाउँपालिकाको केन्द्र विवादले निर्वाचन नहुने खतरा बढेको छ । भौगोलिक बिकटताको कारण गाउँपालिकामा समावेश आठ गाविसहरु झिं, पाखापानी, कुइनेमंगले, चिमखोला, दग्नाम, पिप्ले, भगवती र बेगखोलाका नागरिकहरुलाई एउटै केन्द्रबाट सेवा सुविधा लिन अपाएक देखिएपछि त्यस क्षेत्रका सरोकारवालाहरुले गाउँपालिका थप गरि विवाद समाधान गर्न माग गरेका छन् । रघुगंगा गाउँपालिका अन्र्तगतका साविकका आठ वटा गाविसमा रहेका क्रियाशिल राजनितीक दलहरु, जिल्ला स्थित राजनितीक दलमा प्रतिनिधित्व गर्ने अगुवा नेताहरु र सरोकारवालाहरु सहित मंगलवार र बुधवार गरि दुई दिनसम्म बेनीमा भएको छलफलबाट उनीहरुले रघुगंगा खोला वारी र पारिका बस्तीहरुलाई पाएक पर्ने गरि दुई वटा गाउँपालिका माग गर्ने निर्णय गरेका हुन् । 

भू–वनोट र बिकटताको कारण नागरिकलाई सेवा सुविधा लिन सहज होस भनेर रघुगंगा पारिका बेगखोला, भगवती, पिप्ले, दग्नाम र चिमखोला गाविसलाई मौवाफाँट केन्द्र रहनेगरि गाउँपालिका बनाउनुपर्ने र झिँ, पाखापानी र कुईनेमंगले गाविसलाई समेटेर पाखापानी केन्द्र रहने गरि अर्को गाउँपालिका बनाउन माग गरिएको छलफलमा सहभागि शिब केसीले बताउनुभयो । उहाँले यथास्थितिमा निर्वाचनमा जाँदा रघुगंगा वारी र पारिका कुनै न कुनै भेगका नागरिकले सास्ती व्यहोनुपर्ने अबस्था आएकाले तत्काल गाउँपालिका थप गरि निर्वाचनको वातावरण बनाउन सरकार समक्ष आग्रह गर्ने निर्णय भएको बताउनुभयो ।

बैठकमा सहभागिहरुले हाल कायम गरिएको आठ ओटै गाविसहरुलाई एउटै केन्द्रबाट सेवा सुविधा लिन सक्ने अबस्था नै नरेकाले दुई गाउँपालिका बनाउनका लागि सामुहिक रुपमा साविकका सबै गाविसबासिहरुले पहल गर्ने र शसक्त आन्दोलन गर्ने निचोड समेत निकालेको छलफलमा सहभागि बालकृष्ण सुवेदीले जानकारी दिनुभयो । सो बैठकमा सहभागिहरुले  नेपाल सरकार तथा सम्बद्ध निकायबाट चित्तबुजदो समाधान नभएसम्म हाल सरकारले घोषणा गरेको स्थानीय तह कार्यान्वयनमा अवज्ञा तथा आगामी स्थानीय, प्रादेशिक तथा संसदीय तिनै तहका निर्वाचन पूर्ण रुपपमा बहिस्कार गर्ने सामुहिक प्रतिबद्धता जाहेर गरेका छन् । त्यस्तै  समस्याको उचित समाधान नभएसम्म कुनै पनि निर्वाचनमा साविकका आठ ओटै गाविस र रघुगंगा गाउँपालिकामा निर्वाचत सम्बन्धि कार्यक्रम नगर्न र निर्वाचनको लागि उमेदवार नतोक्न जिल्ला स्थित राजनितीक दलहरुलाई आह्वान समेत गरिएको छलफलमा सहभागि विनोद केसीले बताउनुभयो । रघुगंगा गाउँपालिकामा बहुसंख्यक जनतालाई अपायक पर्ने गरि सरकारले पाखापानीलाई अस्थायी केन्द्र तोकेपछि उत्पन्न विवादको कारण यस गाउँपालिका कार्यान्वनमा समेत चुनौती थपिएको छ । बहुसंख्यक नागरिकहरु आन्दोलित बनेपछि अहिलेसम्म यस गाउँपालिका केन्द्र कार्यालयको औपचारीक रुपमा उद्घाटन समेत हुन सकेको छैन भने तोकिएका गाउँपालिका प्रमुख सहितका कर्मचारीहरु गाउँपालिका केन्द्र कार्यालयमा जान सकेका छैनन् ।