रक्तक्यान्सर पिडितको उपचारका लागि कतारबाट एक लाख १४ हजार सहयोग

  • १६ चैत्र २०७३, बुधबार
  • 1533 पटक पढिएको

म्याग्दी, १६ चैत । रक्तक्यान्सरबाट पिडित म्याग्दीको धौलागिरी गाउँपालीका अन्तरगत साविक ताकम ४ की ३३ वर्षिया फुलमाया भण्डारीको उपचारका लागि कतारबाट एक लाख १४ हजार रुपैया नगद सहयोग प्राप्त भएको छ । भरतपुर स्थित विपी कोईराला मेमोरीयल अस्पतालमा उपचार गराइरहेकी भण्डारीको सहयोगका लागि कतारमा रहनुभएका ताकम काफलडाँडाका खिमबहादुर फगामी, शिवाङका प्रकाश फगामी र मोना कतारका निवर्तमान उपाध्यक्ष बालकृष्ण आचार्यको पहलमा संकलित रकम बुधबार हस्तान्तरण गरिएको छ ।

मोना कतारका निवर्तमान उपाध्यक्ष आचार्यले फुलमाया बचाउ अभियान सञ्चालन गरेको परोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्य र अभियानका संयोजक सन्तोष गौतमलाई रकम उपलब्ध गराउनुभएको हो । फगामीद्धयले आफू कार्यरत कम्पनी र आचार्यले सहकर्मी तथा मोनाका पदाधीकारीहरु मार्फत सो सहयोग जुटाउनुभएको थियो । अभियानमा स्वदेश तथा बिदेशमा रहेका म्याग्देलीहरुबाट सहयोग प्राप्त हुने क्रम जारी छ ।

दुई छोरा र दुई छोरीकी आमा फुलमायाको घरपरिवारको आर्थिक अवस्था कमजोर भएकाले सहयोग संकलन अभियान सञ्चालन गरिएको हो । उनको स्वास्थ्य अवस्थामा सुधार आएको परिवारका सदस्यले बताएका छन् । ओमकुमारी शान्ति कोषका सचिव लोकेश पुनमगरले सञ्चालन गर्नुभएको कार्यक्रममा अध्यक्ष शाक्यले कतारबाट जन्मथलोमा आउनु भएका आचार्यलाई स्वागत तथा सम्मान गर्नुभएको थियो ।