म्याग्दी उद्योग बाणिज्य संघको साधारणसभा : गण्डकी प्रदेश समृद्धिको दिशातर्फ अगाडी बढेको मन्त्री लम्सालको भनाई ( फोटो फिचर)

  • १६ भाद्र २०७५, शनिबार
  • कमल खत्री
  • 2740 पटक पढिएको

बेनी, १६ भदौ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले समृद्धि र विकासको यात्रामा प्रदेश सरकार अगाडी बढेको बताउनुभएको छ । प्राकृतिक सम्पदा, पर्यटकीय सम्भावना, धार्मिक तथा ऐतिहाँसिक स्थल र कला संस्कृतिले भरीपूर्ण गण्डकी प्रदेशलाई विकसित र समृद्ध बनाउने मुख्य लक्ष्य सहित सरकार अगाडी बढेको उहाँको भनाई छ ।
म्याग्दी उद्योग बाणिज्य संघको २५ औँ बार्षिक साधारण सभाको शनिवार बेनीमा उद्घाटन गर्दै मन्त्री लम्सालले सरकारले जनताको सुविधा र प्रदेशको समृद्धिको लागि खाका कोर्ने काम गरिसकेको र निति निर्माणको तयारीमा जुटेको बताउनुभयो । ‘‘ हामी समृद्धिको पथमा छौँ, केही ऐन र कानुनको लागि संघिय सरकारलाई पर्खिएका छौँ, अब जनताले झण्झट होईन सुविधा पाउने हो, त्यसको लागि हामी प्रयासरत छौँ,’’–मन्त्री लम्सालले भन्नुभयो ।

उहाँले पर्यटन, जलस्रोत, कृषि, वनपैदावर लगायतको क्षेत्रमा रहेको सम्भावनाहरुलाई उजागर गर्न र उद्योगमैत्री वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको समेत बताउनुभयो । ‘‘ हिजोका सबै झण्झट अब हट्छन, तपाईहरु यहाँको सम्भावनाहरुलाई उजागर गर्न लगानी गर्न तत्पर हुनुस, लगानीमैत्री बातावरण बनाउन प्रदेश सरकार तत्पर छ,’’–मन्त्री लम्सालले भन्नुभयो । प्रदेश सरकार अहिले वन र वातावरणको निती निर्माण बनाउने कसरतमा जुटेको बताउँदै उहाँले वर्तमान सरकारले जनतालाई अधिकार, विकास र समृद्धि दिन आएको दावि गर्नुभयो ।

गण्डकी प्रदेशले हिमाल, पहाड र तराईलाई समेटीएको चर्चा गर्दै उहाँले यहाँ आउने पर्यटकहरुलाई राम्रो सत्कार र खानपानको बन्दोबस्त मात्रै मिलाउन सकेमा यस क्षेत्रमा लाखौँ पर्यटकहरुलाई भित्र्याउन सकिने बताउनुभयो । परम्परागत तवरले विकास र समृद्धि सम्भव नहुने भन्दै मन्त्री लम्सालले व्यवसायिक सोच र योजनाका साथ अगाडी बढेमा रोजगारी सिर्जना, आर्थिक विकास, विकास र समृद्धिको यात्रा अगाडी बढ्ने बताउनुभयो । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य विनोद केसीले म्याग्दी पर्यटन, जडीबुटी, जलस्रोत, वन पैदावार संगै खानी र उद्योगको क्षेत्रमा समेत सम्भावनायुक्त रहेकाले यस क्षेत्रमा प्रप्याप्त बजेटको लागि पहल गर्न मन्त्री लम्सालको ध्यानकर्षण गराउनुभयो । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायिका समस्या समाधानमा स्थानीय, प्रदेश र संघिय सरकार गम्भिर भएमा लगानीको लागी व्यवसायिहरु तयार रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसी, नेकपाका नेता हरिकृष्ण श्रेष्ठ, नेपाली काँग्रेसका उपसभापती माधव प्रसाद रेग्मी, पूर्व सभासद गोविन्द पौडेल, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले म्याग्दीमा रोजगारिका अवसर सिर्जना नहुँदा युवाहरु विदेशीनु पर्ने बाध्यता रहेकोमा जोड दिँदै उत्पादनशिल क्षेत्रमा लगानीको आबश्यकता औँल्याउनुभयो । कार्यक्रममा महासंघका गण्डकी प्रदेश अध्यक्ष सञ्जिप कोइराला, आईएलओका कार्यक्रम संयोजक प्रकाश शर्मा, महासंघका केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ, पर्वतका अध्यक्ष केदारनाथ अधिकारी, कास्कीका उपाध्यक्ष गोकर्ण कार्की, संघका पूर्व अध्यक्ष कुविर कुमार श्रेष्ठ, म्याग्दी बहुमुखी क्याम्पसका अध्यक्ष बालकृष्ण सुवेदी, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्मा, रुप्से सञ्चार सहकारीका अध्यक्ष सुरत केसी, लगायतले मन्तव्य राख्नुभएको थियो ।

संघका अध्यक्ष उक्तम कुमार कर्माचार्यको अध्यक्षता र स्वागत सम्पन्न भएको कार्यक्रमको सञ्चालन महासचिब लिलाराम गौतमले गर्नुभएको थियो । सो अवसरमा व्यवस्थापन संकायमा स्नातक तहमा उत्कृष्ट नतिजा ल्याउन सफल म्याग्दी बहुमुखी क्याम्पसका सजिना सुवेदी र मिलन खत्रीलाई जनही नगद रु ५ हजारको साथमा कदर पत्रद्धारा पुरस्कृत गरिएको थियो । त्यसैगरि अन्नपूर्ण गाउँपालिकाका ठाकुर प्रसाद पाईजा, मंगला गाउँपालिकाका थमप्रसाद पौडेल र मालिका गाउँपालिकाका मिराज उपाध्यायलाई समेत संघले सम्मान गरेको छ । सो अवसरमा गत माघमा सम्पन्न महोत्सवमा विक्रि भएको साधारण टिकटबाट संकलन भएको रकममध्ये प्रत्येक टिकटबाट ५० पैसाको दरले हुन आउने नगद रु २८ हजार ३६६ रुपैयाँ नेपाल पत्रकार महासंघ र सोही बराबरको रकम अपांग संघ म्याग्दीको संस्थागत विकासको लागि हस्तान्तरण गरिएको थियो । कार्यक्रमकाे समापन बरिष्ठ उपाध्यक्ष बेल बहादुर कटुवालले गरेका थिए ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l