क्याम्पस प्रमुखको कार्यकक्षमा स्ववियू उपसभापतिबाट तोडफोड

  • १३ चैत्र २०७३, आईतवार
  • 3149 पटक पढिएको

म्याग्दी,१३ चैत । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसका प्रमुखको कार्यकक्षमा आइतबार तोडफोड भएको छ ।

क्याम्पसको स्ववीयुका उपसभापति ईश्वर सुवेदीले प्रमुख टिकाराम सापकोटाको कार्यकक्षमा टेबुल, नामप्लेट र सिसा तोडफोड गरेका हुन् । गत साउनदेखि क्याम्पसका प्रध्यापक, कर्मचारीहरुले तलब नपाएको भन्दै आईतबारदेखि पेन डाउन गरेर आन्दोलनमा उत्रिएका छन् ।

सोही कारण कक्षाकोठामा नियमित पठनपाठन हुन नसकेको विषयमा जानकारी गराउन क्याम्पस प्रमुखलाई पटक–पटक सम्पर्क गरेपनि वेवास्ता गरेको भन्दै स्ववियु उपसभापति सुवेदीले र्दुव्यवहारसँगै तोडफोड गरेका हुन् ।

क्याम्पस प्रमुख सापकोटाले मोटरसाइलका सवार रहेका कारण फोन उठाउन नपाएपनि त्यसैलाई आधार बनाएर आफ्नो कार्यकक्षमा तोडफोड गरेको बताए ।

क्याम्पसका १३ पूर्णकालीन सहित ३० जना प्राध्यापक र ९ जना विभिन्न शाखामा कर्मचारीले गत साउन महिनादेखि तलब नपाएको गुनासो गरेका छन् ।  नेपाल सरकारले कर्मचारीको तलबमान बृद्धि गर्ने बर्ष क्याम्पसमा पनि यसअघि नियमित तलब बृद्धि हुदै आएको थियो ।
लामो समयदेखि तलबबृद्धि नभएको भन्दै प्राध्यापक तथा कर्मचारीले सञ्चालक समितिलाई ध्यानाकर्षण गराएपछि असोज १२ गतेको वैठकले विद्यार्थीको मासिक शुल्क र प्राध्यापक एवँ कर्मचारीको तलब बृद्धि गर्ने निर्णय गरेको थियो ।

तर, विद्यार्थीको मासिक शुल्क बृद्धि गरिएको भन्दै अनेरास्ववियुले क्याम्पसमा आन्दोलन गरेपछि दुबै निर्णय कार्यान्वयन हुन नसकेको क्याम्पस प्रमुख सापकोटाले बताए ।

‘सामुदायिक क्याम्पस भएकाले विद्यार्थीको शुल्कबाटै क्याम्पस चल्ने हो । मासिक शुल्क बृद्धि नहुँदा क्याम्पसको कर्मचारीको तलब बढ्न सकेको छैन’, उहाँले भन्नुभयो, ‘त्यो समस्याको समाधान गर्नुको सट्टा तोडफोडमा उत्रिनु राम्रो होइन ।’

स्ववियु सभापति सावित्री खत्रीले क्याम्पसमा विद्यार्थी समस्या सुनुवाई गर्ने प्रमुखले नै उपभासपति सुवेदी माथि अपशष्द प्रयोग गरेका कारण उक्त घटना भएको बताउनुभयो । ‘बिहान ६ बजे नै आउनुपर्ने क्याम्पस प्रमुख आधा घण्टासम्म आउनु भएन । २०÷३० पटक फोन गर्दा पनि उठाउनुभएन्’, खत्रीले भन्नुभयो ,‘किन यस्तो भयो भन्दा उल्टै अपशष्द बोल्नुभयो, त्यसपछि घटना भएको हो ।

यसमा दुबै पक्ष दोषी छ, हामीले आफ्नो तर्फबाट क्षमायाचना गर्नेछौँ ।’ सभापति खत्रीले प्राध्यापकहरुले पेन डाउन गरेको अवस्थामा स्ववियुका पदाधिकारी तथा सदस्यहरु हरेक कक्षाकोठामा गएर पठनपाठन गर्ने वातावरण सिर्जना गरिदिएको समेत बताउनुभयो ।