कालिगण्डकीको बिचमा फसेको कुकुरको २६ दिनपछि यसरी भयो उद्धार (फोटो कथा)

  • १ भाद्र २०७५, शुक्रबार
  • 3954 पटक पढिएको

म्याग्दी, १ भदौ । केही दिन अघि सामाजिक सञ्जालमा कालिगण्डकी नदीको बिच भागमा एउटा कुकुर फसेर अड्कीएको मनछुने तस्बिर भाइरल बन्यो । बेनी नगरपालिका– ९ गलेश्वर स्थित कालिगण्डकी र रघुगंगा नदीको दोभान नजीकै उर्लिरहेको कालिगण्डकीको बिचमा रहेको सानो बगरको टापुमा कुकुर अल्पत्र परेको थियो । नदीमा भेल आउँदा सानो ढुंगोमाथि अल्पत्र परेको त्यो तस्बिरले युवाहरुलाई उद्धारसम्म तानेको थियो । स्थानीयका अनुसार गत २६ दिनदेखि खोलाको बिचमा वारपार गर्न नसकेर अल्पत्र परेको सो कुकुरको शुक्रवार बेनीका युवाहरुको एक समुहले उद्धार गरेको छन् ।

अनेरास्ववियूका नेता प्रकाश पौडेलको नेतृत्वमा बेनी र गलेश्वर क्षेत्रका युवाहरुको समुहले डोरीको पासो बनाएर नदीको बिचमा अड्कीएको कुकुरको उद्धार गरेका हुन् । गलेश्वर तर्फ र पारी राममन्दिर परिसरतर्फको खोला किनारमा डोरीको सहायताले करिब ५० जना युवाहरुको ७ घण्टाको प्रयासपछि कुकुरलाई खोलाबाट बाहिर ल्याउन सफल भएको पौडेलले बताउनुभयो ।


‘‘फेसबुकमा कुकुर नदीको बिचमा अड्किएको कारुणीक तस्बिर देखेपछी हामी उद्धारमा पुगेका हौँ, बिचको बगरमा मानीस जान समेत नसकिने भएकाले डोरीको सहायताले उसलाई उद्धार गर्न सफल भयौँ,’’–पौडेलले भन्नुभयो । बर्खाको उर्लिएको भेलमा कसैले कुकुरलाई बगाइदिएको र छालले उसलाई नदीको बिचको बगरमा पु¥याईदिएको हुनसक्ने अनुमान गरिएको छ ।

खोलाको बिचमा अड्किएको कुकुरलाई स्थानीयले पोको पारेर खानेकुरा बगरमा पु¥याइदिएकाले सो कुकुर बाँचेको थियो ।  सो कुकुरलाई भलिबल खेलाडी तेजेन्द्र बानियाँले आफ्नो घरमा पाल्ने गरि संरक्षण गर्ने जिम्मा लिएका छन् ।