परोपकारी क्षेत्रमा शान्ति कोषले खेलेको भुमिका प्रशंसनिय

  • १२ चैत्र २०७३, शनिबार
  • धिरन खत्री
  • 3593 पटक पढिएको

म्याग्दी, १२ चैत । म्याग्दीमा परोपकारी क्षेत्रमा क्रियाशिल रहेको ओमकुमारी शान्ति कोषले सामाजिक क्षेत्रमा खेलेको भुमिका प्रशंसनिय रहेको एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।

ओमकुमारी शान्ति कोषको तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो अधिबेशनको उद्घाटन सत्रमा बोल्ने बक्ताहरुले सो कुरामा जोड दिएका छन् ।


ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै म्याग्दीका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले आर्थिक विपन्नताको कारण उपचारबाट कसैलाई बञ्चित हुन नपरोस भन्ने महान उदेश्यले स्थापित कोषले जिल्लामा परोपकारीको क्षेत्रमा गरेका कार्य प्रसंनिय रहेको बताउनुभयो ।    

 

उहाँले दुख, पिडा र आर्थिक अभावमा रहेका विरामीहरुलाई आर्थिक संकलन अभियान सञ्चालन गरी कोषले स्वदेश तथा विदेशमा रहेका म्याग्दीबासी संगै सम्पूर्ण नेपालीहरुबिचमा सहयोगी भावनाको विकास गराउन सकेको धारणा राख्नुभयो ।

कार्यक्रममा कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसीले कोषले आर्थिक रुपमा विपन्नताको कारण उपचार गराउन नसकेकाहरुको लागि सहयोग संगै विभिन्न दैविप्रकोप पिडितहरुलाई समेत राहत जुटाउने काम गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा मोनाका क्षेत्रीय उपाध्यक्ष बालकृष्ण खत्री , सम्मानीत भएका बिमल श्रेष्ठ, मोना जापान नागोयाका कोषाध्यक्ष रुपेश चोचाङ्गी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा अध्यक्ष तारानाथ शर्माले समेत कोषले जिल्लाको परोपकारी र सामाजिक क्षेत्रमा खेलेको भुमिका प्रसंनिय रहेको बताउँदै प्रवासमा रहेका म्याग्देलि र नेपालीहरुलाई आफ्नो गाउँ ठाउँमा आईपरेका समस्याहरुमा हालेमालो गर्ने वातावरण सृजना गरेको बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य क्षेत्रमा दिर्घसेवा गर्नुभएका बिमल श्रेष्ठ र मिनादेवी राम्जाली लाई दोसल्ला सहित सम्मानपत्रद्धारा सम्मान गरिएको थियो । त्यसैगरि कोषका संरक्षक, नयाँ आजीवन सदस्यहरु, उज्यालो बैकल्पिक विद्यालयका उत्कृष्ट विद्यार्थी र पत्रकारहरुलाई समेत सम्मान गरिएको थियो ।

सो अबसरमा कोषले परोपकारी क्षेत्रमा गरेका गतिविधिहरुलाई समावेश गरि प्रकाशन गरिएको सहयात्रा स्मारिकाको समेत विमोचन गरिएको थियो ।
सोही अबसरमा मोना कतारका बरिष्ट उपाध्यक्ष रहनुभएका म्याग्दीको भगवती निवासी तिलु शर्मा पौडेलले आर्थिक विपन्नताको कारण उपचार गराउन नसकेका व्यक्तिहरुको उपचारको लागि सहयोग स्वरुप उपलब्ध गराउनुभएको रु २५ हजार प्रमुख जिल्ला अधिकारी पौडेलले कोषका अध्यक्ष शाक्यलाई हस्तान्तरण गर्नुभएको थियो ।

कोषका उपाध्यक्ष हरिकृष्ण गौतमले स्वागत गर्नुभएको कार्यक्रममा सचिब लोकेस पुन मगरले प्रगति र कोषाध्यक्ष खम थापा मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सञ्चालन सचिब मगरले गर्नुभएको थियो ।
हाईपोप्लाष्टिक एनिमिया रोगबाट पिडित भई उपचारकै क्रममा ज्यान गुमाएकी बेनी नगरपालिका–४ थामडाँडा निवासी ओमकुमारी पुन (शान्ति)को स्मृतिमा स्थापना गरिएको कोषले हालसम्म जिल्लामा विभिन्न रोगबाट पिडित भई आर्थिक अभावले उपचार गराउन नसकेकाहरु ३२ जनालाई आर्थिक सहयोग गरि उपचार गराईसकेको छ भने अन्य विभिन्न सामाजिक कार्यहरु समेत गर्दै आएको छ ।

कोषले जिल्लामा परोपकारी अभियानलाई प्रभावकारी बनाउन रु १ करोड ५० लाख राशिको अक्षयकोष स्थापना गर्ने अभियानलाई समेत तिब्र बनाएको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l