बन कार्यालयको अस्तब्यस्त छानविन गर्न कार्यदल गठन

  • १२ चैत्र २०७३, शनिबार
  • 1677 पटक पढिएको

म्याग्दी, १२ चैत । जिल्ला बन कार्यालयको सञ्चारमाध्यममा तिब्र गुनासो आउन थालेपछि सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्यको संयोजकत्वमा एक कार्यदल गठन भएको छ । कोष तथा लेखा नियन्त्रक छविन्द्र बेलबासेको सदस्य रहेको कार्यदलले एकहप्ता भित्र बन कार्यालय भित्रका हिनामिना, कर्मचारीको गुनासो, कार्यालय प्रमुख सुखलाल प्रसाद जयसवालले कर्मचारीको रासन प्रक्रियामा गरेको अवरोध, सेवासुविधामा कर्मचारीको हालिमुहाली लगाएतका विषयमा केन्द्रित भएर अनुसन्धान गर्ने प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी पौडेलले गरेको छड्के अनुगमनको क्रममा कार्यालय प्रमुख विना कारण कार्यालय बाहिर रहेको र केही कर्मचारी समेत कार्यालयमा उपस्थित नदेखेपछि हाजिर पुस्तिकामा गयल लेखिएको छ । प्रमुख जिल्ला अधिकारी कार्यालयमा पुगेपछि कर्मचारीले कार्यालय प्रमुखको कार्यसम्पादनका बारेमा समेत गुनासो गरेका थिए । कार्यालय प्रमुखको मनोमानी ,अनुशासनहिन कर्मचारी, सेवा प्रवाहामा ढिलासुस्ती लगाएतका गुनासो दिनप्रति दिन बढ्न थालेको कार्यालयलाई नियमन गर्न समेत कर्मचारीले माग गरेका थिए ।
त्यस्तै तालिमको बजेट समेत विना जानकारी निकाल्ने, बन उपभोक्ता समितिले प्राप्त गर्ने सुविधाहरु समेत दुरुपयोग, बन रक्षकका सेवामा समेत प्रमुखको हालिमुहाली लगाएतका गुनासो समेत देखिएको छ । त्यस्तै कर्मचारीको रासन ठेक्का टेन्डर मुल्याङ्कन दुईमहिना वितिसक्दा समेत कार्यालय प्रमुखले त्यसलाई अवरोध गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा समेत गुनासो पुगेको छ । रासन सुविधामा प्रमुखले मनोमानी गरेको भन्दै कर्मचारीबाटै जिल्ला प्रशासनमा निवेदन दिएका छन् ।

राज्यले दिएको सुविधामा प्रमुखले ठेक्कदारबाट कसिसनाको खोजीमा प्रक्रिया नै अवरुद्ध गरेपछि कर्मचारीले आफ्नो तलबाट रासन खरिद गरिरहेका छन् ।  एकहप्ता भित्र कार्यदलले गुनासो र यर्थातका बारेमा प्रतिवेदन बुझाएपछि थप कारवाहीको प्रक्रिया अगाडी बढ्ने बताइएको छ । विगतमा समेत कार्यालयका धेरै गुनासा आउने गरेका थिए ।