गरिबी निवारणका लागि करिब दुई करोडको घुम्ती कोष परिचालन

  • ११ चैत्र २०७३, शुक्रबार
  • सन्तोष गौतम
  • 2155 पटक पढिएको

म्याग्दी ११ चैत । म्याग्दीको बेनीमा गरिवी निवारण कोष कार्यक्रमको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सहयोगी संस्था धौलागिरी सामुदायीक स्रोत विकास केन्द्र (डिसीआरडीसी) र संगम म्याग्दीको आयोजनामा भएको कार्यक्रममा कोष मार्फत भएका गतिबिधीको समिक्षा र आगामी योजनाको विषयमा छलफल भएको थियो ।

कार्यक्रम अन्तरगत गठन भएका ५६ वटा सामुदायीक संस्थामा आवद्ध ७३२ जनालाई घुम्ती कोष मार्फत हालसम्म एक करोड ८२ लाख ३३ हजार ५६२ रुपैया परिचालन भएको जानकारी गराइएको थियो । विपन्नको आयआर्जन वृद्धी गरि गरिबी निवारणमा सघाउ पुग्ने किसीमका क्रियाकलाप गर्न सामुहीक जमानीको आधारमा सहुलियत ब्याजदरमा घुम्ती कोषको रकम परिचालन गरिएको हो । कोषले उपलब्ध गराएको रकम बाख्रा, भैसीपालन, तरकारी, फलुफल खेती, ब्यापार ब्यवसायको क्षेत्रमा लगानी भएको छ ।

हालसम्म साविकका १७ गाविसमा गठन भएका १८३ वटा सामुदायीक संस्थामा चार हजार ३२३ घरपरिवार आवद्ध भएका छन् । सामुदायीक संस्थामा आवद्ध भएका मध्य ९५ प्रतिशत महिला छन् । बरंजा, निस्कोट र दरवाङमा समूह गठन प्रक्रिया अघि बढेको छ ।  नयाँ सामुदायीक संस्था मार्फत घुम्ती कोष परिचालन गर्ने तयारी भएको छ ।

साना पूर्वाधार योजना सञ्चालनका लागि माग संकलन र सर्वेक्षण गरिएको छ ।  संगम मार्फत पाखापानी, चिमखोला, दाना, दोवा, हिस्तान, पिप्ले, घार, बरंजा, निस्कोट र दरवाङ तथा डिसीआरडिसी मार्फत देविस्थान, ताकम, मुना, लुलाङ, मुदी, कुइनेमंगले, मराङ, मल्कवाङ, रुम र ओखरबोटमा गरिवी निवारण कार्यक्रम सञ्चालन भएको छ ।

कार्यक्रम लागु भएका वडाका सचिवहरु सहभागि कार्यक्रममा संगम म्याग्दीका कार्यक्रम संयोजक कुलचन्द्र रेग्मी र डिसीआरडीसीका कार्यक्रम संयोजक सुरेश पुनले संस्था मार्फत भएका गतिबिधीको बारेमा जानकारी गराउनुभएको थियो । गरिवी निवारण कोषका कार्य प्रबन्धक ईश्वरा आचार्यले कोषको लक्ष्य, कार्यक्रम सञ्चालन प्रक्रियाको बारेमा जानकारी गराउनुभएको थियो ।

डिसीआरडिसीका कार्यकारी सचिव सिर्जना थापाको अध्यक्षता र संगम म्याग्दीका कार्यसमीती सदस्य उषा किसानको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा सहभागि वडा सचिवहरुले अन्य निकाय तथा संस्थाको कार्यक्रमसंग दोहोरीन नदिन, स्थानीय स्तरमा समन्वय र लगानीको प्रभावकारीताका लागि अनुगमनमा जोड दिन सुझाव दिएका थिए ।

सन्तोष गौतम