म्याग्दीमा मनाईयो विश्व क्षयरोग दिवस, क्षयरोगबाट पिडित भएकाहरुको पहिचान दर बढ्यो

  • ११ चैत्र २०७३, शुक्रबार
  • धिरन खत्री
  • 3177 पटक पढिएको

म्याग्दी, १० चैत । म्याग्दीमा पछिल्लो समय क्षयरोगबाट पिडित भएका विरामीहरुको पहिचान दर बढेको छ । विश्व क्षयरोग दिवसको अबसरमा जिल्ला स्वास्थ्य कार्यालयले शुक्रवार बेनीमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा यस्तो जानकारी गराईएको हो ।
कार्यक्रममा क्षयरोगबारे अभिमुखीकरण गर्दै कार्यालयका क्षयकुष्ठरोग कार्यक्रमका फोकल पर्सन मनिस कुृमार महत्तोले पछिल्लो तिन बर्षको अबधिमा जिल्लामा क्षयरोगका विरामीहरुको पहिचान दर बढेको जानकारी दिनुभयो ।


उहाँका अनुसार, आर्थिक बर्ष २०७०÷०७१ मा हरेक एक लाख जना मध्ये ५२ जनामा क्षयरोग लागेका भेटिएका थिए भने २०७१÷०७२ मा हरेक एक लाखमा  ५९  जना र २०७२÷०७३ मा ६१ जनामा क्षयरोगको संक्रमण रहेको भेटिएको थियो । क्षयरोगबाट पिडित भएकाहरुको पहिचान पछि समयमै उपचार गराई नियमित औषधी सेवन गरेकाहरुमध्ये ९७ प्रतिशतको उपचार समेत सफल भएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।


नेपालमा हरेक बर्ष ४४ हजार क्षयरोगका विरामी थपिने गरेको अनुसंधानहरुले देखाएको छ । क्षयरोग लागेका एक व्यक्तिबाट एक बर्षमा कम्तीमा १० जनामा सो रोग सर्ने खतरा हुने  महत्तोले बताउनुभयो । हावाको माध्ययमबाट एक व्यक्तिमा भएको क्षयरोगको किटाणु अर्को व्यक्तिमा समेत सर्न सक्ने भएकाले यो रोग लागेकाहरुले समयमै उपचार गराउनुपर्ने जिल्ला जनस्वास्थ्य अधिकृत नारायण चौधरीले बताउनुभयो । उहाँले स्वास्थ्य संस्थामा क्षयरोगको औषधी निशुल्क पाईने र ६ महिना सम्म नियमित रुपमा औषधी सेवन गरेमा रोग निको हुने भएकाले क्षयरोगका लक्षण देखिएका व्यक्तिहरुले समयमै स्वास्थ्य परिक्षण गर्नुपर्ने र बालबालिकाहरुलाई अनिवार्य रुपमा बिसीजी खोप लगाउनु पर्नेमा जोड दिनुभयो ।
दुई हप्ताबढी खोकी लाग्ने, साँझपख ज्वरो र पसिना आउने, खान मन नलाग्ने, छाती दुख्ने, दुब्लाउँदै जाने, खकारमा रगत देखा पर्ने जस्ता लक्षणहरु देखिएमा जुनसुकै व्यक्ति पनि क्षयरोगबाट पिडित भएको हुन सक्ने भएकाले सो लक्षण देखिएमा स्वास्थ्य संस्थामा पुगेर उपचार गराउनुपर्नेमा स्वास्थ्यकर्मीले जोड दिने गरेका छन् ।

सो कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्मा र लायन्स क्लब अफ बेनी महारानीका उपाध्यक्ष प्रमिला श्रेष्ठले स्वास्थ्य संस्थामा निःशुल्क उपचार हुने र औषधी सेवन गरेमा निको हुने क्षयरोगलाई नियन्त्रण गर्नको लागि आबश्यक जनचेतना फैलाउन आबश्यक रहेकोमा जोड दिनुभयो । यसैबिच लायन्स क्लब अप महारानी र जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा बेनीमा जनचेतनामुलक प्रभातफेरी गरिनुको साथै संचारमाध्ययम मार्फत सन्देश प्रशारण समेत गरिएको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l