न्यु जेनेरेशन युवा क्लबद्धारा कालिपुलमा जमेको हिलोमाटो सरसफाई (फोटो फिचर)

  • १२ श्रावण २०७५, शनिबार
  • कमल खत्री
  • 3110 पटक पढिएको

म्याग्दी, १२ साउन । म्याग्दी र पर्वत बेनीलाई जोड्न कालिगण्डकी नदीमा रहेको मोटरेबल पुलमा जमेको हिलो माटो सरसफाई गरिएको छ । दैनिक सयौँ मानिसहरु आवत जावत हुने यस पुलमा हिलो जमेर पानीको तलाउ बनेपछि पर्वत बेनीमा रहेको न्यु जेनेरेशन युवा क्लबले शनिवार सरसफाई गरेका हुन् । क्लबका पदाधिकारीहरुको एक समुहले करिब ३ घण्टा बढी समय खर्चिएर पुलमाथि जमेको हिलोमाटोलाई सफा गरिएको क्लबका अध्यक्ष राजकुमार परियारले जानकारी दिनुभयो ।

‘‘ विद्यार्थी, कर्मचारी र सर्वसाधारणलाई पुलबाट पैदल हिँडेर वारपार गर्न नै समस्या थियो, पुलमाथि जमेको हिलोमा सवारी साधन ओहोर दोहोर गर्दा पैदलयात्रीहरुलाई हिलो छ्यापीने समस्याले हैरान बनाएपछि हामीले सरसफाई गरेका हौँ’’–क्लब अध्यक्ष परियारले भन्नुभयो । कोदालो, साबेल र गल लगायतका सामाग्री सहित युवाहरुले श्रमदान गरि पुलको सफाई गरेका छन् ।

१३ जना युवाहरुको सो समुहले कालीपुलमाथि जमेको हिलो माटोलाई हटाएको र पुलको दायाँ र बायाँ पैदलयात्रीलाई हिड्नको लागि बनाइएको बाटोमुनीको नाली समेत सफा गरिएको क्लबका उपाध्यक्ष कमल परियारले बताउनुभयो । ‘पुलमा गाडीले हिलो छ्याने गरेपछि बालबालिकाहरु समेत विद्यालय जान नमान्ने अबस्था छ, सरकारी तवरबाट कुनै पहल भएन, हामी आफैले सफा गरौँ भनेर लागेका हौँ’–उहाँले भन्नुभयो ।

पुलमाथि हिलो जमेर पानीको तलाउ बन्दा पैदलयात्री र सवारी साधनलाई समेत आवत जावतमा समस्या सिर्जना भएको थियो । क्लबका पूर्व अध्यक्ष प्रकाश नेपालीले अन्य दिन आफुहरु काममा व्यस्त रहने भएपनि शनिवारको फुर्सदको समयलाई सदुपयोग गरि सरसफाईमा जुटेको बताउनुभयो ।

यता क्लबका सल्लाहकार मिलन श्रेष्ठले युवाहरु फुर्सदको समयमा सामाजिक कार्यमा लाग्नुपर्छ भन्ने उदेश्यले क्लबको पहलमा सरसफाई हुनु सकरात्मक कार्य रहेको र अन्य दिनमा समेत क्लबले रचनात्मक कार्यहरु गर्दै जाने बताउनुभयो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l